
भारत शासित कश्मिरको स्थिति नियन्त्रण बाहिर , भारत सरकारद्धारा इन्टरनेट सेवा वन्द, कफ्र्यु जारी राख्दै भारी मात्रामा सुरक्षाकर्मी परिचालन
भारत शासित कश्मिरमा तनाव बढ्दै जाँदा राज्य सरकारले कर्फ्युलाई जारी राख्नुका साथै इन्टरनेट सेवालाई अवरुद्ध गरिदिएको छ । राज्यका संवेदनशील क्षेत्रहरुमा भारीमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको बताईएको छ ।
भारतशासित कश्मिरमा मङ्गलवारदेखि भड्किएको हिंसा रोक्न राज्य सरकारलाई अझै हम्मेहम्मे परेको छ । राज्य सरकार सुरक्षा बल एवं केन्द्रीय सुरक्षा बल दुवैको व्यापक परिचलानमा स्थितिलाई सामान्यकृत गर्ने प्रयास भएपनि असफल भएको छ । स्थिति असामान्य भईरहेपछि अनावश्यक अफवाह नफैलिओस भनेर राज्य सरकारलाई इन्टरनेट सेवालाई पूर्णरुपमा अवरुद्ध गरिदिएको छ । सामाजिक सञ्जालको कारण धेरै मानिसहरु सडकमा उत्रिएको अवस्था आएपछि राज्य सरकारले अघोषितरुपमा इन्टरनेट सेवा बन्द गरिदिएको सञ्चार माध्यमहरुले जनाएका छन् । भारतशासित कश्मिरको पछिल्लो हिंसामा परी ४ जना आन्दोलकारीहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना राष्ट्रियस्तरका क्रिकेट खेलाडी नईम कादिर भट रहेको बताईएको छ । मत्यु एवं घाईतेहरु बढी हंदवारा क्षेत्रको भएको सञ्चार माध्यमरुले उल्लेख गरेका छन् । हंदवारा क्षेत्रवाहेक श्रीनगर, कुपवाडा, गांदरबल, पुलवा लगाएतका क्षेत्रमा आन्दोलन उग्ररुपमा बढी रहेको बताईएको छ । हंदवारा क्षेत्रमा एक सैनिकले स्थानीय महिलालाई जिस्काएपछि स्थानीयले विरोध गरेका थिए । त्यसपछि भएको झडप नपत्याउदो किसिमले राज्य भरिनै फैलिएको थियो । मुख्य गरी प्रदर्शनकारहरुमाथि राज्य सरकार सुरक्षाबलले आवश्यक भन्दा बढी बल प्रयोग गरी हत्या र घाईतेहरुको संख्या बढ्न गएपछि स्थिति असामान्य भएको हो । भारतशासित कश्मिरका पृथकतावादी नेताहरुले राज्य सरकारको दमनको विरुद्धमा कडा रुपमा प्रदर्शनमा उत्रिन आग्रह गरेका छन् ।