
मुस्ताङ, जिविस मुस्ताङले दुई पर्यटकीय जिल्ला मनाङ र मुस्ताङलाई सडक सञ्जालमा जोड्ने योजना अघि सारेको छ ।
राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गतपर्ने यी दुई जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकले ५४ सय मिटरको उँचाइमा अवस्थित थोराङला पास हँुदै आवतजावत गरिरहेका छन् । हिउँदको याममा भारी वर्षा हुने भएकाले यो रुट पूर्णरुपमा बन्द हुन्छ ।
सडक सञ्जालमा जोड्न सकेमा यहाँ पर्यटक आवागमन बढ्ने अपेक्षा गरिएको छ । स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले मनाङ र मुस्ताङलाई सडक सञ्जालमा जोड्ने काम अघि बढेको जानकारी दिनुभयो । अहिले पर्यटक ओहोरदोहोर गर्ने रुटबाट सम्भव नभए पनि सडक विस्तारका लागि विस्तृत अध्ययन भइरहेको छ ।
जिविसले मुक्तिनाथ गाविसमध्ये ताङयाबाट मनाङको नारफु जोड्ने सडक विस्तार गर्न बजेट माग गरेको छ । “सडक निर्माण गर्न रु ८० लाख माग गरेका छौँ” उहाँले भन्नुभयो । मुस्ताङका भू–बनोट, धार्मिक पर्यटकीयस्थल तथा लोमान्थाङ भ्रमणमा जाने मनाङका पर्यटकलाई सडक सञ्जालले सहयोग पु¥याउनेछ । रासस