
२०७२ साल स्वास्थ्य क्षेत्रका लागि अत्यन्त पिडादायक अवस्थाबाट गुज्रियो । मुलुकमा युद्द हुँदा समेत प्रभावित नहुनुपर्ने स्वास्थ्य क्षेत्र नाकाबन्दीले इतिहासमै पहिलो पटक बिरामी बोकेको एम्बुलेन्स जलाउनेदेखि औषधि जलाउने सम्मका गतिबिधि भए । नक्कली डाक्टर पक्राउको घटनाले समग्र चिकित्सा क्षेत्र नै धमिल्यायो । यद्दपी स्वास्थ्य बिमाको सुरुवातले विपन्न नागरिकका लागि केही राहतको वर्ष पनि बन्यो वर्ष २०७२ ।
२०७२ को सुरुवातमै गएको विनासकारी भूकम्पले मुलुकको स्वास्थ्य क्षेत्र निक्कै प्रभावित बन्यो । कति स्वास्थ्य संस्थाहरु भत्किए भने कति चर्किए । तर सडकमै भएपनि स्वास्थ्यकर्मीहरु घाइतेको उपचारमा अहोरात्र खटिए,जुन प्रशंसानीय रह्यो । सरकारी तथ्यांक अनुसार भूकम्पका कारण ८ हजार ६ सय ७१ जनाले ज्यान गुमाए भने १६ हजार ८ सय ८ जना घाइते भए । त्यसमध्ये कतिले अहिले पनि उपचार गराउदैछन् । धेरै मानिस अपांग भए ।
सकुशल रहेकाहरुमा पनि भूकम्पको त्रासले मानसिक स्वास्थ्यमा गहिरो असर गरेको बिज्ञहरुले बताएका छन् । भूकम्पले क्षति गरेको स्वास्थ्य संस्थाहरुको निर्माण कार्य अझैपनि पूर्ण भैसकेको छैन । भूकम्पछि अन्तर्राष्ट्रिय क्षेत्रबाट देशको स्वास्थ्य क्षेत्रको नाममा ठूलो रकम सहयोग आए । तर विभिन्न ६ वटा अन्तर्राष्ट्रिय संस्थाले सहयोगका रुपमा उपलब्ध गराएको १७ अर्ब २ करोड ४९ लाख रुपैयाँ कहाँ र के–के शीर्षकमा खर्च भए भन्ने विवरण भने अहिलेसम्म सार्वजनिक गरेको छैन । भूकम्प पछिको सम्भावित रोग र संक्रमणप्रति नागरिक आफै सचेत हुँदा त्यसले ठूलो क्षति गरेन ।
भूकम्पको झण्डै ६ महिनापछि भएको संबिधान घोषणाले सबै नागारिकको स्वास्थ्य उपचार पहुँच समबन्धि हक त सुनिश्चित गर्यो तर हाम्रो संबिधानमा असन्तुिष्ट जनाउदै भारतले गरेको नाकाबन्दीले धेरैले समयमा उपचार नपाएर ज्यानै गुमाउनुपर्यो ।
अस्पतालहरु समेत अभाबपूर्ण स्थितिले गर्दा बिरामीले गुणस्तर स्वास्थ्य सेवा पाउन सकेनन् । औषधि अभाबले स्वास्थ्य क्षेत्रमा डरलाग्दो स्थिति सिर्जना गर्यो । मधेसी मोर्चाको कार्यकर्ताले गरेको औषधि र एम्बुलेन्स जलाउने जस्ता कार्यले देशको समग्र स्वास्थ्य क्षेत्रलाई नै नराम्रो धक्का दियो । अस्पतालहरुमा औषधि अभाव चरम रुपमा देखियो भने इन्धन अभावमा चिकित्सकहरु समेत समयमा अस्पताल पुग्न नसक्ने स्थिति आयो ।
कतिसम्म भने बालबालिकालाई समयमै दिनुपर्ने विभिन्न खोपहरु समेत अभाव भए । यो स्वास्थ्य क्षेत्रकै लागि सबैभन्दा दुखद पक्षका रुपमा स्वास्थ्य इतिहासले अवश्य सम्झिरहनेछ । तर औषधीको यस्तो चरम अभाव र संकट व्यहोरिरहेको बेला गैर आवासीय नेपाली संघले ठूलो मात्रामा औषधि सहयोग गरेर स्वास्थ्य क्षेत्रलाई राहत प्रदान गर्यो ।
त्यसैगरी यस वर्षको जाडोमा भूकम्प पीडितहरुमा बिभिन्न स्वास्थ्य समस्याले सतायो । न्यानो लुगा र गतिलो बासस्थानको अभावमा आफ्ना मसिना केटाकेटीलाई जोगाउनै गाह्रो भयो उनीहरुलाई । २०७२ सालको स्वास्थ्य क्षेत्रको अर्को अचम्म र डरलाग्दो घटनाको रुपमा रह्यो– सिआइबीले ठुलोसंख्यामा नक्कली डाक्टर पक्राउ गरेको घटना । यो घटनाले समग्र चिकित्सा क्षेत्रप्रति नै प्रश्न चिन्ह लगायो । प्रहरीको सक्रियता यतिमा मात्र सीमित रहेन ।
त्यसपछि नेपाली औषधि कम्पनिहरुले सरकारले तोकेको भन्दा बढी मुल्यमा औषधि विक्री वितरण गरेर कालोबजारी भैरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्यो । यसरी २०७२ साल स्वास्थ्य क्षेत्रको लागि उथलपुथ युक्त रह्यो । तर वर्षको अन्त्यतिर आएर वहुप्रतिक्षित स्वास्थ्य विमा यसै वर्षदेखि शुरु भयो । यसले स्वास्थ्य क्षेत्रलाई केही भएपनि राहत दिलाएको छ । कैलाली जिल्लादेखि सरकारले नागरिकको स्वास्थ्य बिमा गराउने कार्य चैत्र २५ देखि शुरु गरेको हो । यो सेवा शुरु भएपछि विपन्न नागरिकका परिवारको पनि स्वास्थ्यमा पहुँच पुग्ने विश्वास गरिएको छ ।