३० चैत्र २०७२, मंगलवार

बुटवल, सरकारका प्रवक्ता शेरधन राईले संविधानका विषयमा देशभित्र र अन्तर्राष्ट्रिय जगत्मा फैलिएको गलत हल्ला चिर्ने काममा वर्तमान सरकार सफल भएको बताउनुभएको छ ।

rai serdhan

सूचना तथा सञ्चारमन्त्री राईले प्रेस चौतारी नेपाल, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नयाँ संविधानको व्यवस्था अनुसार सीमाड्कनको टुङ्गो लगाउन बनेको उच्चस्तरीय समितिलाई पूर्णता दिन नेपाली काँग्रेसको महाधिवेशनका कारण ढिलाइ भएको बताउँदै अब छिट्टै काँग्रेस र मधेसकेन्द्रित दलसँग औपचारिक वार्ता गरी टुङ्गो लगाइने स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान सरकार संविधानको जगमा र जनचाहना अनुरुप गठन भएको बताउँदै संविधानको कार्यान्वयन नचाहने र मुलुकमा अराजकता र अस्थिरता चाहनेले सरकारको विकल्पका कुरा गर्नु असान्दर्भिक भएको बताउँदै भन्नुभयो–“ सरकारको विकल्पका कुरा गर्नु राष्ट्रिय आवश्यकता विपरीत हो ।”

उहाँले काँग्रेस र मधेसकेन्द्रित दलसँग छिट्टै सहमति गरी सीमाङ्कन र स्थानीय निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो । उहाँले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट वक्तव्य मार्फत स्थानीय निर्वाचनको मिति घोषणा हुने जानकारी दिँदै आगामी जेठ १५ मा बजेट आउने र त्यसअघि हुने नीति तथा कार्यक्रम प्रस्तुत भई स्थानीय निर्वाचनको घोषणा हुने जानकारी दिनुभयो ।

सञ्चारमन्त्री राईले अनलाइन मिडियाहलाई मर्यादित बनाउन निर्देशिका जारी गरिने र वरिष्ठ पत्रकारलाई जीवनवृत्ति दिने तयारी भएको बताउँदै सञ्चारमाध्यमको वर्गीकरण गरेर मर्यादित बनाइने जानकारी दिनुभयो । रासस

 

LIVE TV