२८ चैत्र २०७२, आईतवार

काठमाडौँ, सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाल टेलिकमलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाई पहिलो कम्पनीको रुपमा स्थापित गरिनुपर्ने बताउनुभएको छ ।

mantri-sherdhan-rai-photo

नेपाल दूरसञ्चार कर्मचारी सङ्घको २६ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ बोल्दै उहाँले आधुनिक प्रविधिको उच्चतम् प्रयोगका साथ सेवालाई नतिजामुखी बनाउन टेलिकम लाग्नुपर्नेमा जोड दिनुभयो । “जनतालाई गुणस्तरीय सेवा दिने गरी टेलिकमलाई पहिलो कम्पनी बनाउन अहिलेकै अवस्थाबाट सम्भव छैन, हामी छिट्टै नै टेलिकम सुधार कार्ययोजना ल्याउँदैछौँ, त्यसलाई कर्मचारी व्यवस्थापनले नतिजामुखी कार्यान्वयनका लागि सङ्कल्पका साथ लाग्नुपर्छ,”–सञ्चारमन्त्री राईले भन्नुभयो ।

उहाँले नेपाल टेलिकमको राष्ट्रिय पहिचान र पहुँचलाई अभिवृद्धि गरी जनताको विश्वास जित्न सक्नुपर्ने खाँचो औँल्याउनुभयो । सोही प्रसङ्गमा सञ्चारमन्त्री राईले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण पूर्वाधार कोषको रकमलाई मुलुकभरका शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गरी अत्यावश्यक सेवालाई इन्टरनेटको पहुँच पुग्ने गरी अघि बढाइने उल्लेख गर्नुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले टेलिकमको सेवालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै अधिकतम जनताको पहुँचमा पु¥याउने गरी कार्ययोजना अघि बढाइने बताउनुभयो ।

सञ्चालक सुनिलकुमार पोखरेलले टेलिकमले प्रविधि भित्र्याउने तर व्यवसाय प्रवद्र्धनमा ध्यान नदिएकै कारण निजी क्षेत्रका एनसेल जस्ता कम्पनीसँग प्रतिस्पर्धात्मक चुनौती थपिएको धारणा राख्नुभयो ।

पेसागत महासङ्घ नेपालका उपाध्यक्ष दीपक सुवेदीले मुलुकको प्रतिष्ठासँग जोडिएको टेलिकमको सेवालाई ग्राहकको आवश्यकता र चाहनाअनुरुप सेवा सुदृढीकरणमा ध्यान दिन व्यवस्थापनलाई आग्रह गर्नुभयो ।

सार्वजनिक संस्थान कर्मचारी युनियनका अध्यक्ष कृष्णमान श्रेष्ठले सार्वजनिक संस्थानलाई व्यावसायिक सुदृढीकरणका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो ।

सङ्घका वरिष्ठ उपाध्यक्ष लोकबहादुर कटुवाल, नेपाल टेलिकम नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष जयबहादुर शाही, नेपाल टेलिकम वर्कर्स युनियनका सहअध्यक्ष मातृका सिवाकोटीलगायतले संस्थाको सुदृढीकरणका लागि सबै ट्रेड युनियन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सङ्घको वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै हरेक वर्ष प्रवेशिका परीक्षामा उत्कृष्ठ अङ्क ल्याउने कर्मचारीका छोराछोरीलाई सङ्घका तर्फबाट छात्रवृत्ति प्रदान गरिएको थियो ।

 

LIVE TV