
पोखरा, विमेन एक्ट र दलित गैरसरकार संस्था महासङ्घको संयुक्त आयोजनामा आजदेखि पोखरामा सुरु प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन समारोहमा नयाँ संविधानले प्रदान गरेका हक तथा अधिकारको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ ।
एसिया फाउन्डेसन र युएसएआइडीको सहयोगमा तीन दिनसम्म चल्ने ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण’ विषयको प्रशिक्षणको उद्घाटन कार्यक्रमका वक्ताहरूले नयाँ संविधानले प्रत्येक वर्ग र समुदायका अधिकारलाई अधिकतम संरक्षण गरेको उल्लेख गरेका हुन् ।
उनीहरुले संविधानको सफल कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षको एकीकृत प्रयास आवश्यक हुनेमा जोड दिए ।
कार्यक्रममा कास्कीका प्रजिअ हरिप्रसाद मैनालीले नयाँ संविधानले समाजका प्रत्येक वर्ग र समुदायका अधिकारलाई अधिकतम समेट्ने प्रयास गरेको बताउँदै संविधानप्रदत्त अधिकारलाई कार्यान्वयनका तहमा लैजानुपर्ने बताउनुभयो ।
विमन एक्टका अध्यक्ष सिर्जना अधिकारीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवालमा संविधानले सुनिश्चित गरेका हक तथा अधिकारलाई सही कार्यान्वयन गराउनका लागि सम्बद्ध सबै पक्ष र निकायको जागरुकता आवश्यक हुने बताउनुभयो ।
दलित गैरसरकारी महासङ्घका उपाध्यक्ष सुशील विकले समाजमा सकारात्मक सोच विस्तार नहुँदासम्म चाहेर पनि सामाजिक विभेदको क्रम अन्त्य गर्न नसकिने स्पष्ट पार्नुभयो । महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जिसीले सामाजिक रुपमा देखिने लैङ्गिक विभेदलाई पूर्ण रुपमा निर्मूल पार्न समाजको तल्लो तहसम्म समाजिक सचेतना अपरिहार्य हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, द एसिया फाउन्डेसनका कार्यक्रम निर्देशक कुमार खड्का, पूर्ण परियारलगायतले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सुनिश्चितताका लागि संविधानले सुनिश्चित गरेका हक तथा अधिकारको उपयोग गर्ने तथा गराउने तर्फ सबैको एकीकृत प्रयास आवश्यक भएकामा जोड दिनुभयो । रासस