२८ चैत्र २०७२, आईतवार

उपप्रधानमन्त्री एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले मुलुकमा जारी ऊर्जा सङ्कट निवारणका लागि सरकारले सबै उपाय अवलम्बन गरेको बताउनुभएको छ ।
top_bdr_rayamajhi
निर्माणाधीन तथा निर्माणमा रहेका आयोजनालाई तत्काल पूरा गराउने योजनाका साथ सरकार लागेको भन्दै उहाँले आगामी एक वर्षभित्र आधारभूत रुपमा विद्युत्भार कटौती अन्त्य गरिने उल्लेख गर्नुभयो ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले भन्नुभयो, “उर्जा सङ्कट निवारण गुरुयोजनाअनुसार द्रुतगतिमा काम भइरहेको छ । आगामी वर्ष दैनिक पाँच÷छ घन्टाभन्दा बढी विद्युत्भार कटौती हुँदैन ।”

अप्ठ्यारो परिस्थितिको बाबजुद पनि आफूले ऊर्जा क्षेत्रमा आमूल परिवर्तन ल्याउने प्रयास गरेको उल्लेख गर्दै मन्त्री रायमाझीले केही वर्षमै विद्युत् उत्पादन गरेर निर्यात गर्ने सामथ्र्य मुलुकले राख्ने बताउनुभयो । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम सुरु गरिएको स्पष्ट पार्दै ऊर्जा मन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई सबै साधन र स्रोत उपलब्ध गराएर काम गराइएको छ भन्नुभयो ।

बूढीगण्डकी, नौमुरे, नलसिंहगाड, माथिल्लो अरुण, सुनकोसीलगायत जलविद्युत् आयोजनासमेत चाँडै निर्माण कार्य अगाडि बढ्ने मन्त्री रायमाझीले जानकारी दिनुभयो ।

भारतबाट आयात गर्ने भनिएको ६०० मेगावाट विद्युत् ढल्केबर र अन्य ठाउँमा सवस्टेसनको अभावका कारण ल्याउन नसकिएको भन्दै उहाँले सवस्टेसन र प्रसारण लाइन निर्माणको काम पनि जारी रहेको बताउनुभयो । प्रसारण लाइनको समस्याका कारण पूर्वी तराई र काठमाडौँ उपत्यकाबीच सन्तुलन कायम गर्न असहज भएको भन्दै उहाँले विभिन्न विकल्पमा साथ काम भइरहेको र छिट्टै परिणाम निस्कने जानकारी गराउनुभयो ।

फरक एक प्रसङ्गमा मन्त्री रायमाझीले ओली नेतृत्वको वर्तमान सरकारले स्थानीय निर्वाचन र संसदीय निर्वाचन गराएर मात्रै सत्ता हस्तान्तरण गर्ने दाबी गर्नुभयो । उहाँले ओलीकै नेतृत्वको सरकारमा नै सहभागी भएर संविधान कार्यान्वयन गर्न प्रतिपक्षी नेपाली काँग्रेस र मधेसवादी दलहरुलाई समेत आग्रह गर्नुभयो । रासस

 

LIVE TV