२७ चैत्र २०७२, शनिबार

जनकपुरधाम, नेपालका लागि भारतीय राजदूत रणजीत रेले नेपाल भारतको खुला सीमालाई गलत कार्यमा उपयोग गर्न नहुने बताउनुभएको छ ।

rey
भारतीय महावाणिज्य दूतावास वीरगन्ज र नेपाल–भारत महिलामैत्री समाजद्वारा जनकपुरमा आयोजित सीमावर्ती समस्या र समाधान विषयक कार्यक्रममा उहाँले समस्या समाधानको उपाय दीर्घकालीन पहिल्याउनु जरुरी छ भन्नुभयो ।

राजदूत रेले खुला सीमाको जायज फाइदा लिएमा खुला सीमाको विशिष्टता युगान्तकारी हुन सक्ने धारणा राख्दै वाणिज्य, पारवहनलगायतका समस्या बारेमा अगामी महिनामा हुन गइरहेको दुवै देशका सचिवस्तरीय छलफलमा ध्यानाकर्षण गराउने धारण पनि राख्नुभयो ।

भारतीय महावाणिज्यदूत अञ्जु रञ्जनले खाद्यान्न सामग्रीको तस्करीमा वृद्धि भइरहेकाप्रति ध्यानाकर्षण गराउनुभयो ।

समाजका अध्यक्ष चन्दा चौधरीले दुवै देशका नागरिकबीच कटुता उत्पन्न गराउने क्रियाकलाप बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

उद्योग वाणिज्य सङ्घ जनकपुरका अध्यक्ष शिवशङ्कर साहले अयोध्या जनकपुर सडक निर्माण कार्य चर्चालाई व्यवहारमा कार्यान्वयनको आवश्यकतामा जोड दिनुभयो ।

नेपालको धनुषा, महोत्तरी, सर्लाही र भारतको सीतामढी र मधुवनी जिल्लाका सुरक्षा, व्यापार र सञ्चार क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको सो कार्यक्रमा समाचार, मानव तस्करी, दैनिक उपभोग्य सामग्री, नेपाली रुपैयाँमा कारोबार, हातहतियार ओसारपसार, भारतीय नेपाली सवारी साधन आवागमन, जडीबुटीको निर्यात, नागरिकता समस्याका बारेमा छलफल भएकोे थियो । रासस

 

LIVE TV