२६ चैत्र २०७२, शुक्रबार

south-korea-e1455357487221

सन् २०१६ का लागि दक्षिण कोरियामा रोजगारीका लागि करिब ३१ सय जना नेपाली जान पाउने भए लगत्तै आवेदन भर्नेको घुइचो लागेको छ । इपिएस कोरिया शाखाले त्यसका लागि भाषा परीक्षामा सहभागी हुन आवेदन दर्ता आह्वान गरेको छ ।

वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले सूचना जारीगरी उत्पादनमुलक क्षेत्रमा १ हजार र कृषि तथा पशुपालन तर्फ २१ सय जना नेपाली कोरिया पठाउन सक्ने जानकारी दिएको हो । परीक्षा २०७३ सालको असार ४ र ५ गते हुनेछ । कोरिया भाषा परीक्षामा सहभागी हुन १८ देखि ३९ वर्षभित्रका नेपाली

नागरिकले आवेदन दिन पाउनेछन् । त्यस्तै फौजदारी अभियोग नलागेको र कोरियामा गैर कानुनी रुपमा बसेर फिर्ता नपठाइएको ब्यक्ति हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ । करिब १ देखि डेढ लाख रुपैयाँ खर्चमा कोरिया जान पाइने र अरु देशको तुलनामा धेरै कमाइ हुने भएकाले कोरियाको जागिर वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि आकर्षक मानिन्छ ।

आवेदन फाराम वैशाख १५ देखि १९ गतेसम्म काठमाडौं उपत्यकाका ६ वटा र काठमाडौं बाहिरका ५ वटा केन्द्रमा बुझाउन सकिने इपिएस कोरिया शाखाले जनाएको छ । काठमाडौंमा ललितपुर बालकुमारीको च्यासल खेलमैदान, महाराजगञ्जको काठमाडौं भ्याली उच्च मावि, कीर्तिपुरको ल्याबोरेटोरी उच्च मावि, ललितपुर सातदोवाटोको महेन्द्र आदर्श विद्याश्रम र गौशालाको नेपाल वेद विद्याश्रमममा बुझाउन सकिने जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं बाहिर धरानको धरान सभागृह,  रुपन्देहीको बुटवल प्रदर्शनी मण्डप, पोखरा बाटुलेचौरको विन्द्यवासिनी उच्च मावि, डडेल्धुराको जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र र जनकपुरको श्रम कार्यालयमा पनि बुझाउन सकिने इपिएस कोरिया शाखाले जनाएको छ।

भाषा परीक्षाका लागि २४ अमेरिकी डलर शुल्क तोकिएको छ । भाषा परीक्षाको नतिजा भने साउन ११ गते सूचना टाँसेर र वेवसाइट मार्फत प्रकाशित हुने जनाइएको छ । नेपाल सरकार र कोरियाली सरकारबीचको समझदारी अनुसार नेपाली कामदारहरु कोरिया जानका लागि लिइने यो सातौं भाषा परीक्षा हो ।

 

LIVE TV