
काठमाडौँ, मादक पदार्थ सेवनपछि भएको सामान्य विवादमा एक व्यक्तिको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
सर्लाही बाग्मती गाविस घर भई हाल काठमाडौँ जम्बोडाँडा बस्दै आएका १८ वर्षीय साजी तामाङ र मकवानपुर मजुरढाप गाविसका २१ वर्षीय विक्रम वाइबालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
गत चैत ७ गते बूढानीलकण्ठको एक होटलमा मादक पदार्थ सेवनपछि सामान्य विवादमा तामाङ र वाइबाले सुनसरी सत्तेझोरा घर भई हाल बूढानीलकण्ठ बस्ने विनोद उरावको हत्या गरेको प्रहरीले जनाएको छ ।
चैत ८ गते बूढानीलकण्ठको विष्णुमती खोला छेउमा रहेको गहुँ बारीमा ढुङ्गाले टाउकामा प्रहार गरी वीभत्स ढङ्गले हत्या गरेको अवस्थामा उरावको शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
होटलबाट बाहिर निस्केपछि विवाद हुँदा वाइबा र तामाङले मृतक उरावलाई ढुङ्गाले टाउकामा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।
ढुङ्गा प्रहार गरेपछि उराव भुइँमा लडेकामा पहिचान खुल्ने र पक्राउ पर्ने डरले उनीहरुले ढुङ्गाले अनुहारमा पटक पटक प्रहार गरेको र मृतकको साथमा रहेको मोबाइल सेट लुटेर भागेको प्रहरीले जनाएको छ ।
मृतक र अभियुक्त दुईजना सामान्य मजदुरी गरेर खाने व्यक्ति भएको तथा घटना हुनुअघि उनीहरुबीच सामान्य चिनजानसमेत थिएन ।
घटना भएको दिन उनीहरुले दिनभरको मजदुरीपछि राति होटलमा आई मादक पदार्थ सेवन गरेका थिए ।
महाशाखाको प्रहरी टोलीले अभियुक्तहरुलाई चैत २४ गते पक्राउ गरी आज कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पठाएको छ । रासस