
गर्मी सुरु भएसंगै बिभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नेको संख्यामा वृद्धि भएको चिकित्सकहरुले जनाएका छन् । गर्मीमा खानपान र पानीजन्य संक्रमणले झाडापखाला,फुड पोइजनिङ लगायत स्वास्थ्य समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । गर्मी महिनामा विभिन्न स्वास्थ्य समस्याहरु देखिनसक्ने भएकोले खानपान र सरसफाइमा ध्यान दिन चिकित्सकहरुको सुझाव छ ।
गर्मी मौसममा खानपानमा ध्यान नदिंदा धेरै स्वास्थ्य समस्या देखिने गरेको छ । अहिले गर्मीको सुरुवात भएसंगै मुलुकको बिभिन्न भागमा झाडापखालाका प्रकोप फैलिसकेको छ । गर्मी मौसममा सरसफाई, पिउँने पानी र खानेकुरामा ध्यान नदिंदा बिरामीको संख्यामा वृद्धि भएको चिकित्सकहरुले बताएका छन् ।
गर्मीमा फोहोर सडेगलेको बासी खानेकुरा र बाहिर खुल्ला ठाउँमा राखेका खानेकुरा खानु जोखिमपूर्ण मानिन्छ । अहिले यस्ता खानेकुरा खाएर पेट सम्बन्धि स्वास्थ्य समस्या लिएर आउनेहरु बढेको चिकित्सकहरुले बताएका छन् कुनै कुनै जीवाणुको फुड प्वाइजनिङ त निकै खतरनाक मानिन्छ । त्यसैले यो मौसममा ठिक्क मात्रामा खाना पकाउनुपर्छ भने खानालाई लामो समय बासी राख्नु हुँदैन । हुन त खानेकुरा सधै स्वच्छ, सफा र ताजा हुनुपर्छ तर यो मौसममा अझ बढी सतर्कता अपनाउनुपर्छ ।
पानीको प्रयोगमा पनि ध्यान पुर्याउनुपर्छ । शरीरको तापक्रममा सन्तुलन कायम राख्न बढी पानी पिउनुपर्ने हुन्छ । पानीको प्रदूषणका कारण हुने रोगहरूमा झाडापखाला प्रमुख मानिन्छ । प्रदूषित पानीको माध्यमबाट झाडापखाला तथा अन्य रोगका जीवाणुहरू हाम्रो शरीरमा प्रवेश गर्छन् । पानीको प्रदूषणका कारणले टाइफाइड, हेपाटाइटिस (जन्डिस), मनसुन डिजिज आदि विभिन्न किसिमका जुका पर्ने, अपच तथा पेटको गडबडी हुने समस्याले पनि दुःख दिन सक्छन् । त्यसैले यस्तो मौसममा निर्मलीकरण गरिएको पानी मात्र सेवन गर्नुपर्छ । यस्तै खर्बुजा,काँक्रो मेवा जस्ता मौसमी फलफूल सेवन गर्नु पनि गर्मीका लागि राहतयुक्त मानिन्छन् ।
अहिले मौसमको अस्वाभाविक परिवर्तन र अत्यधिक तापक्रमले मानव स्वास्थ्यमा त्यसै पनि नकारात्मक असर गरिरहेको छ । यस्तो मौसममा शरीरको रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने भएकोले खानपानमा अझ बढी ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।