२५ चैत्र २०७२, बिहीबार

पाल्पा, बौघापोखराथोकका कृषक रुकबहादुर रेश्मी साहुसँग रु दुई लाख ऋण गरेर बहराइन पुग्नुभयो । दुई वर्ष त्यहाँ काम गर्दा ऋण तिर्न पनि उहाँलाई धौधौ प¥यो । मनग्य कमाइ गर्न त परै जाओस् साहुसँग विदेश जाँदा लिएको ऋण तिर्न मुस्किल भएपछि रेश्मी घर फर्किएर गाईपालन व्यवसायमा लाग्नुभयो । Cow-farm

विदेशमा यथेष्ट कमाइ गर्ने र परिवारलाई सुखसँग पाल्ने उहाँको सपना गाईपालन व्यवसायबाट पूरा भएको छ । “सात वर्षअघि रु पच्चीस लाखको लागतमा थालेको व्यवसायबाट अहिले मासिक रु एक लाखभन्दा बढी आम्दानी हुन्छ”, रेश्मीले भन्नुभयो– “घरमै बसेर पनि मनग्य कमाउन सकिँदो रहेछ ।”

रेश्मीले जर्सी र होलस्टिन गरी २० वटा गाई पाल्नुभएको छ । दैनिकजसो १२० लिटर दूध उत्पादन गरी सदरमुकाम तानसेनमा बिक्री गर्दै आउनुभएका उहाँले २५ वटा माउ गाई पाल्ने लक्ष्य लिनुभएको छ ।

यस्तै रामपुरका गणेश आचार्यले पनि तीन वर्ष खाडी मुलुकमा काम गरेर अहिले गाउँमै गाईपालन व्यवसाय थाल्नुभएको छ । रु १७ लाखको लगानीमा व्यवसाय थाल्नुभएका उहाँले जर्सी र होलस्टिन जातका २२ वटा गाई पाल्नुभएको छ । “दैनिक ७० देखि ८० लिटरसम्म दूध उत्पादन गरी मासिक रु ६० हजार आम्दानी हुन्छ,” उहाँले भन्नुभयो ।

त्यस्तै रोजगारीका लागि खाडी मुलुक पुग्नुभएका ज्ञानराज पोखरेललाई विदेश जाँदा बैंकबाट झिकेको रु तीन लाख ऋण तिर्न मुस्किल प¥यो । तीन वर्षमा उहाँले मुस्किलले रु दुई लाख ५० हजार कमाइ गर्नुभयो । स्वदेश फर्किए लगत्तै पोखरेलले गाई फार्म व्यवसाय सुरु गर्नुभयो ।

रु १२ लाखको लागतमा व्यवसाय थाल्नुभएका उहाँले अहिले ११ वटा गाईबाट दैनिक ३० देखि ५० लिटरसम्म दूध उत्पादन गर्नुहुन्छ । “मासिक रु ५० हजारसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । विदेश जानुअघि धेरै इच्छा, आशा मनमा भए पनि त्यहाँ पुग्दा सबै सपना विलिन हुने गरेका उहाँले सुनाउनुभयो ।

विदेश गएर स्वदेश फर्केका जिल्लाका युवा अहिले गाईपालनबाट मनग्य कमाइ गर्न सफल भएका छन् । साहुसँग ऋण झिकेर विदेशिएका युवाले पछिल्लो समय आम्दानीको बलियो र दिगो व्यवसाय पशुपालनलाई बनाएका छन् ।

जिल्लामा अहिले विदेश गएर फर्केका र विदेश जान लागेका १३० युवाले व्यावसायिक पशुपालनबाट मनग्य आम्दानी गरेका जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत डा चन्द्रबहादुर राना बताउनुहुन्छ । कार्यालयले व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढाउन युवालक्षित कार्यक्रमअन्तर्गत अनुदान रकम, विभिन्न सामग्री, भकारो सुधार, गोठ निर्माण, निःशुल्क घाँसको बीउ, औषधि उपचारजस्ता सेवा उपलब्ध गराएका कारण पशुपालनमा युवाको सङ्ख्या बढेको हो ।

“दस वर्ष यताकै पशुपालनमा तेब्बर सङ्ख्यामा युवाको आकर्षण बढेको छ” उहाँले भन्नुभयो । रासस

 

LIVE TV