
उमेरले बूढ्यौली लागेपनि रुकुम मग्माका शसिराम खत्रीलाई शिक्षाको मोहले छोडेन, आफ्नै नाति नातिनीसँगै एसएलसी परीक्षामा सहभागी
फाइल फोटो
उमेरले ५८ वर्ष लागिसकेका रुकुम मग्माका शसिराम खत्रीको शिक्षाप्रतिको मोह कति छ भन्ने कुरा यसपटकको एसएलसी परीक्षामा उनको सहभागीताले छर्लङ्ग पारिदिएको छ । नाति नातिना स्याहारेर र पूजा पाठ गरेर बस्ने उमेरमा पनि उनी आफ्नै नाति नातिनीसँग एसएलसी परीक्षामा सहभागी भईरहेका छन् । शिक्षाप्रतिको उनको यो झुकाव अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।
जिल्लाको मग्मा गाविस वडा नं. ९ ढारवाङका शसिराम खत्रीले सोहि गाविसमा रहेको सिद्धार्थ जनता उच्च माविबाट एसएलसी दिईरहेका हुन् । पहिलोपल्ट एसएलसीमा सहभागी भएका उनको सी प्लस ग्रेड ल्याउने लक्ष्य छ । उनका सबै सन्तानहरुले यसअघि नै आईएड उतिर्ण गरिसकेका छन् । मग्माकै एक विद्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत उनले विहान र सा“झ फुर्सदको समयमा ट्युसन तथा कोचिङ कक्षा लिने गरेका थिए । नियमित विद्यार्थीहरुसंगै ट्युसन लिएको बताउँदै उनले नियमित विद्यार्थीजस्तै नतिजा ल्याउछु भन्ने आत्मविश्वास रहेको सुनाए ।
शसिरामले मर्यादित तरिकाले नै जा“च दिईरहेको केन्द्राध्यक्ष नदिराम केसीले बताए । उनले अर्कोबर्षदेखि नै माथिल्ला तहमा समेत अध्ययन शुरु गर्ने जनाए । उनले दैनिक ५ घन्टासम्म घरमा स्वअध्ययन गर्ने गरेको र तिनवटा विषयमा ट्युसन लिएको जानकारी दिए । उनी नेपाल राष्ट्रिय मावि ढारवाङका कार्यालय सहयोगी हुन । पढाई लेखाई बिना कुनैपनि काम सफल रुपमा पुरा गर्न नसकिने चेतना अहिलेमात्र आएकाले परीक्षामा सहभागी भएको जनाए । पहिले विभिन्न कारणले पढाईवीचमा छोड्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै खत्रीले अहिले आएर शिक्षाको महत्व बुझेको जनाए । उनले पढाईमा भन्दा अरु कुरामा ध्यान दिने पछिल्लो पुस्तालाई उदाहरण दिन पनि आफू एसएलसी परीक्षामा सहभागी भएको बताए ।
जिल्लामा केहिबर्षयता पाका उमेरका व्यक्तिहरु एसएलसीमा सहभागी हुने क्रम बढिरेहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत तिलक गौतमले जनाए । उनका अनुसार बर्षमा ५० जना बढि पाका उमेरका व्यक्तिहरु परीक्षामा सहभागी हुने गरेका छन् ।