२४ चैत्र २०७२, बुधबार

काठमाडौँ, गुह्येश्वरीबाट गोकर्णसम्मको पाँच किमी वाग्मती नदी किनारको दायाँबायाँका सडकमा फोहर फाल्न रोक्नका लागि सौर्य बत्ती जडान गरिनुपर्नेमा जोड दिइएको छ ।

sun light
वाग्मती किनार सौर्य उज्यालो कार्यक्रम उपभोक्ता समितिले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले वाग्मती नदीमा राति फोहर फालिने भएकाले सौर्य बत्ती जडान गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“मन्त्रालयका तर्फबाट ३०० मेगावाट सौर्य ऊर्जा निकाल्ने तयारी भएको छ, विद्युत्भार कटौती घटाउन पनि सडक सौर्य बत्तीको विस्तार गरिनुपर्छ, सडकबाट तारको सडक बत्ती विस्थापित गरिनुपर्छ” – उहाँले भन्नुभयो ।

सांसद् रामेश्वर फुयाँलले वाग्मती नदीलाई स्वच्छ राख्न सडक सौर्य बत्तीको आवश्यकता भएकामा जोड दिनुभयो । “फोहर राति अँध्यारोमा फालिन्छ नदीको दायाँबायाँ दुवैतिर सौर्य बत्ती राखिएमा फोहर फाल्ने क्रम कम गर्न सकिन्छ, सडकमा राति आवतजावतका लागि पनि यसको आवश्यकता छ” – उहाँले भन्नुभयो ।

समितिका अध्यक्ष गोविन्द ढुङ्गेलले नदी किनारमा राखिएका बत्तीको सुरक्षा गर्न स्थानीयवासी तयार रहेको प्रतिबद्धता जनाउनुभयो । यो वर्ष सांसद् फुयाँलले निर्वाचन क्षेत्र विशेष पूर्वाधार विकास कार्यक्रमबाट रु सात लाख सौर्य बत्तीका लागि विनियोजन गर्नुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले राससलाई जानकारी दिनुभयो ।

अनुमानित रु दुई करोड लाग्ने यो कार्यक्रमका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट ७० प्रतिशत, यस क्षेत्रमा पर्ने काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबाट गरी १५ प्रतिशत बजेट माग गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

नदीको एकपट्टि किनारमा १०० वटा पोल लाग्ने, ब्याट्री र सौर्य प्यानलसहितको एउटा पोलको रु एक लाख पर्छ । रासस

 

LIVE TV