२४ चैत्र २०७२, बुधबार

नेपाली काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।  संसदीय दलको नेता चयनका लागि निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार मङ्गलबार देउवा र पौडेलको मनोनयन दर्ता भएको हो ।
देउवाको प्रस्तावकमा सांसद फरमुल्लाह मन्सुर र समर्थकमा सांसद पद्यनारायाण चौधरी हुनुहुन्छ ।  नेता पौडलको प्रस्तावकमा सांसद प्रकाशमान सिंह र समर्थकमा महामन्त्री समेत रहनुभएका डा. शशाङ्क कोइराला हुनुहुन्छ ।
संसदीय दलको नेताका लागि बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म मतदान हुँदैछ ।  काँग्रेसमा २०७ सांसद हुनुहुन्छ ।  कार्यसमितिको निर्वाचन सांसदहरूले मतदान गर्न पाउनुहुनेछ ।  एक महिनाअघि पार्टी सभापतिमा प्रतिस्पर्धा गर्नुभएका पौडेल र देउवा एक महिनामै फेरि संसदीय दलको नेतामा प्रतिस्पर्धामा उत्रिनुभएको हो ।
पहिलो संविधानसभापछि गठित संसद्मा दलको नेतामा देउवा पौडेलसँग पराजित हुनुभएको थियो ।  १४ मत अन्तरले पौडेल संसदीय दलको नेतामा विजयी हुनुभएको थियो ।  यस्तै दोस्रो संविधानसभापछि गठित संसद्को संसदीय दलको नेतामा पनि देउवा तत्कालीन पार्टी सभापति सुशील कोइरालासँग पराजित हुनुभएको थियो ।  कोइरालासँग देउवा १६ मतको अन्तरले पराजित हुनुभएको थियो ।  देउवाले ८९ मत पाउँदा कोइरालाले १०५ मत पाउनुभएको थियो ।

poudelnsitaula
तत्कालीन पार्टी सभापति तथा संसदीय दलका नेता सुशील कोइरालाको निधनपछि काँग्रेसले संसदीय दलको निर्वाचन तय गरेको हो ।  संसदीय दलको कार्यसमितिको निर्वाचन भने २८ महिनादेखि हुन सकेको छैन ।  तत्कालीन संस्थापन र देउवा पक्षको विवादका कारण मतदाता मतदानका लागि लाइन बसेपछि निर्वाचन कार्यक्रम स्थगित भएको थियो ।
विद्युतीय मतदान प्रणालीमा मतदान
पार्टीको महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग नगरेको काँग्रेसले संसदीय दलको निर्वाचनमा भने विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ ।  महाधिवेशनमा मतगणनामा भएको लामो प्रक्रियालाई लिएर प्रविधि उपयोग नगरेको भन्दै आलोचना पनि भएको थियो ।  निर्वाचन आयोगले उपलब्ध गराएको मेसिनको मङ्गलबार परीक्षण गरी मतदान प्रक्रियाबारे मतदातालाई जानकारी दिइएको छ ।
‘संविधान कार्यान्वयनका लागि उम्मेदवारी’
संसदीय दलको नेताका उम्मेदवार देउवाले आफ्नो उम्मेदवारी संविधान कार्यान्वयनका लागि भएको बताउनुभयो ।  मनोनयन दर्तापछि सङ्क्षिप्त प्रतिक्रिया दिनुहँुदै देउवाले पार्टी एकता र मधेस समस्या समाधानका लागि आफू केन्द्रित हुने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन, पार्टी एकता र मधेस समस्या समाधानका लागि मेरो उम्मेद्वारी हो । ’
‘न्यायोचित एकताका लागि उम्मेद्वारी’
यस्तै, संसदीय दलका नेताका अर्का प्रत्यासी पौडेलले पार्टीका पदमा न्यायोचित वितरणका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।  पार्टीलाई एक बनाउन आफूले उम्मेदवारी मनोनयन गरेको पौडेलले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘पार्टी एक बनाऊँ, जिम्मेवारी बाँडफाँट गरौँ’ भन्ने मेरो भावना हो ।  मैले जितेँ भने सभापतिलाई पनि साथमा लिएर पार्टी अघि बढाउँछु ।

 

LIVE TV