२३ चैत्र २०७२, मंगलवार

काठमाडौँ, ज्यानसम्बन्धी मुद्दामा २९ वर्षसम्म फरार रहेका एक अपराधी पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ, ६५ वर्षीय विष्णुबहादुर थापालाई फैसला कार्यान्वयनको सिलसिलामा सोमबार भद्रवासबाट पक्राउ गरेको हो ।

प्रेमबहादुर बस्नेतको जाहेरीले वादी नेपाल सरकार भई प्रतिवादी थापासमेत रहेको ज्यानसम्बन्धी एक मुद्दामा उनी फरार रहिआएका थिए । घटनापछि उनी २०४३ भदौ १२ गतेदेखि बेपत्ता भएका हुन् ।

ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनको २०५० वैशाख २७ गतेको फैसलामा थापालाई दुई वर्ष दुई महिना १२ दिन कैद र रु ५५० जरिवाना तोकिएको थियो । उक्त कैद तथा जरिवाना भुक्तान नगरी उनी बेपत्ता भएका थिए ।

थापालाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा पठाइएको ब्युरोले जनाएको छ । रासस

 

LIVE TV