२१ चैत्र २०७२, आईतवार

प्रविधिको दुरुपयोग गरेर अपराध गर्नेहरुको जालो फैलदो, साइबर अपराध नियन्त्रणका लागि कानूनको अभाव अपराधीहरुका लागि मनोबल बढाउने सिढी बन्दै

cyber-crime

प्रविधिको विकास जीवनयापनका लागि सजिलो त बन्यो तर यसैको दुरुपयोग मानिसहरुको टाउको दुखाइको विषय बन्दै गएको छ । इन्टरनेट हाम्रो दैनिकीको सहायक मात्र बनेको छैन, अपराधिक मनोवृत्तिका मानिसहरुको सशक्त हतियार सावित भएको छ । प्रविधिको प्रयोगसँगै देशले साइवर अपराध दिनानुदिन व्यहोर्दै छन् । अपराधका आयाम फराकिलो बन्दै र जटिल बन्दैछ । तर सरकार नजान्ने गाउँको वाटै नसोध्नु भने झैं गरिरहेको छ । कमजोर संयन्त्र र कानुनको अभावमा साइवर अपराधले समाजका हरेक पक्षलाई संक्रमण गरिरहेको छ ।

पछिल्लो समय पोखराकी नेहा पुन र धनकुटाकी भेनिसा लिम्वुलगायतका हत्या प्रकरणहरु हाम्रो मगजमा ताजै छन् । सामाजिक सञ्जालको प्रयोग गर्नु नै उनीहरुको लागि अभिषाप भयो । फेसवुक, ह्वाट्सएपलगायतका सञ्जालहरुले जुराएको सम्वन्ध वलत्कार र हत्यामा पुगेर अन्त्य भयो । चोरी, ठगी र हत्या अभियोगमा जीवन तामाङ्हरु प्रहरी हिरासतमा छन् । अपराध महाशाखा काठमाडौमा करिव पाँच सयका उजुरीहरु छन् ।

सरकारले इ गभर्नेन्स शुरु गर्ने लक्ष्यअनुरुप सरकारी सेवा, सुविधा र योजना तथा निर्णयहरुलाई नागरिकसम्म दुरुस्त राख्ने गरी हरेक मन्त्रालय, विभाग र कार्यलयहरुले आफना सबै गतिविधिहरु आफनो आधिकारिक वेभमा प्रकाशन गर्न शुरु ग¥यो । तर पछिल्लो समय सरकारका ती वेभहरु ह्याकरको निशानामा परे । सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय र नेपाल सरकारका विभिन्न निकायहरु लगायतका हजारौ नेपालीे वेभहरु ह्याक भए । मूख्यतया बंगलादेश साइबर आर्मी, इन्डोनेशिया, भारतका सेन र इरानीलगायत विभिन्न ह्याकरहरुको समूह नेपालका वेबसाइट ह्याकमा संलग्न देखिएका भए पनि अपराध महाशाखाले नेपाल टेलिकम, दुग्ध विकास, दूरसञ्चार लगायतका वेभ ह्याक गरेको अभियोगमा १८ वर्षीय विकास पौडेललाई पक्राउ ग¥यो ।

नेपालमा साइवर अपराधलाई नियमन र नियन्त्रण गर्न  विद्युतीय कारोवार ऐन २०६३ र संशोधित ऐन ०६४ क्रियाशिल छ । ऐनमा जिम्मेवार ब्यक्तिबाट अख्तियारी नलिइ कसैको कम्प्युटर सामग्रीमा अनाधिकृत पंहुच राख्नेलाई कसुरको गम्भीरता हेरी दुई लाख रुपैया जरिवाना वा तीन बर्ष कैद वा दुवै हुन सक्ने उल्लेख छ भने विद्मुतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशित गर्नेलाई  १ लाख सम्म जरिवाना वा ५ बर्षसम्मको जेल वा दुवै हुन सक्ने उल्लेख छ । तर फराकिलो बन्दै गएको साइवर अपराधको आयामलाई यस कानुनले सम्वोधन गर्न नसक्ने विज्ञहरुको भनाई छ ।

यसैवीच, काठमाडौ प्रहरीले साइवर प्रहरी शुरु गरेको छ । साइवर स्पेशको अनुगमन तथा निगरानी,  अपराधको पहिचान र अपराधीको खोजी गर्ने उद्देश्यले काठमाडौ प्रहरीले दुई जना विशेषज्ञको सहयोगमा साइवर अपराध सम्वन्धी अपराध हेर्न सेल गठन गरेको हो । तर नेपालको पुरानो कानुन, प्रविधिको विकासअनुरुप दक्ष जनशक्ति र संयन्त्रको विकासको साथै दीर्घकालीन रणनीति र योजनाहरु नहुदा नेपालमा साइवर अपराध जटिल बन्दै गएको छ ।

 

LIVE TV