२१ चैत्र २०७२, आईतवार

पोखरा, पोखरा पर्यटन परिषद्को आज यहाँ आयोजित १५ औँ वार्षिक साधारणसभामा वक्ताले एकीकृत र समन्वयात्मक प्रयासबाट मात्र पर्यटन क्षेत्रको समग्र विकास सम्भव हुनेमा जोड दिएका छन् ।

पर्यटन क्षेत्रसँग धेरै विषयगत संस्था र निकाय अन्तर सम्बन्धित हुनेमा जोड दिँदै वक्ताले सबै संस्था एवम् निकायले आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता आँैल्याएका थिए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले पर्यटकलाई आकर्षित गर्न पर्यटकीय पूर्वाधार मात्र भएर नहुने चर्चा गर्दै उनीहरूप्रति गरिने व्यवहार तथा सेवा प्रवाहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

पोखराको समग्र पर्यटकीय विकासका लागि यस क्षेत्रका सम्बन्धित कार्यालय एवम् निकायका प्रमुखबीच छलफल हुने गरेको बताउँदै उहाँले सबैको समन्वयात्मक प्रयासबाट यहाँको पर्यटन व्यवसायलाई प्रभावकारी बनाउने उल्लेख गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले परिषद्ले आफ्नो स्थापनाकालदेखि नै यहाँको दिगो पर्यटन विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

पर्यटन सम्बद्ध सम्पूर्ण संस्थाबीच आपसी सहयोग, सहकार्य एवम् सहभागिताको आधारमा सामाजिक उत्तरदायित्व मनन गर्दै परिषद्ले व्यावसायिक सामाजिक उत्तरदायित्वलगायतका विषयलाई प्राथमिकता दिँदै आएको उहाँको भनाइ छ ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पोखरामा प्रकृतिप्रदत्त उपहारको संरक्षण गर्दै आएका पर्यटकलाई हसिलो व्यवहारका साथ सेवा प्रवाह गर्नसकेमा मात्र पनि यो पर्यटकीय आकर्षणको विशिष्टस्थल बन्ने धारणा राख्नुभयो ।

एनेकपा (माओवादी)का जिल्ला सदस्य रामजी बरालले हाम्रा संस्कार, संस्कृति र व्यवहारले पर्यटकलाई प्रभावित पार्ने बताउँदै सरोकार राख्ने सबै संस्था एवम् निकायको समन्वयात्मक प्रयासबाट यहाँको पर्यटकीय विकासलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव नुरहरि खतिवडा, श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जीवनकुमार राई, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापा, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश खनाललगायतले पर्यटनसँग धेरै सङ्घ संस्था र निकाय अन्तर सम्बन्धित हुने कुरालाई दृष्टिगत गरी सबैको एकीकृत र समन्वयात्मक प्रयासमा यस व्यवसायलाई अघि बढाउन सकिनेमा जोड दिनुभयो । रासस

 

LIVE TV