विराटनगर, सभामुख ओनसरी घर्तीले सबै दलले संसद् नियमावली राजनीतिक दलहरुकै सहमतिमा बनाउन लागिएको कारण ढिलाइ भएको बताउनुभएको छ ।
सञ्चारकर्मीहरुसँग आज विराटनगरमा कुराकानी गर्दै सभामुख घर्तीले राजनीतिक दलहरु बसेर सहमति गरे चाँडै नै बन्ने भएकाले सहमतिमा नियमावली निर्माण गर्न आग्रह गर्नुभयो ।
उहाँले मस्यौदा समितिलाई चाँडै काम सम्पन्न गर्न आग्रह गरिएको जानकारीसमेत दिनुभयो ।
सभामुख घर्तीले संविधानमा उल्लेख भए बमोजिम नै सुनुवाइ समिति बनाउन राजनीतिक दलहरुले सहमति गर्नुको विकल्प नभएको बताउनुभयो ।
उहाँले सहमति हुन नसके प्रक्रियाबाट समेत टुङ्गो लगाइने तयारी भएको जानकारी दिनुभयो ।
उहाँले संविधान कार्यान्वयनका लागि धेरै ऐेनहरु बनाउनुपर्ने मात्र होइन बजेटसमेत पेस गर्नुपर्ने भएकाले वैशाखको तेस्रो साता संसद् बोलाउन तयारी भइरहेको बताउनुभयो ।
पत्रकारको जिज्ञासामा उहाँले मधेसी दलहरुले उठाएका माग संंसद्बाट समाधान निकाल्न सकिने बताउनुभयो ।
उहाँले मधेसवादी दलहरु र प्रमुख राजनीतिक दलहरुलाई वार्ता र संवादमा ल्याउन आफूले पुनः भूमिका खेल्ने जानकारी दिनुभयो । रासस