२० चैत्र २०७२, शनिबार

चितवन, पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले राजनीतिलाई व्यवसाय बनाउन नहुनेमा जोड दिनुभएको छ ।

BABU
उद्योग वाणिज्य सङ्घ चितवनले जिल्लाको नारायणगढमा आयोजना गरेको एक अन्तक्र्रियाका क्रममा बोल्नुहुँदै डा भट्टराईले राजनीतिलाई व्यवसाय नबनाई व्यवसाय गरेर राजनीति गर्नुपर्ने सुझाव दिनुभयो । राजनीतिलाई व्यवसाय बनाएका कारण नै भ्रष्टाचार बढेको उहाँको जिकिर थियो ।

“कार्यकर्तालाई विभिन्न ढङ्गले उत्पादन र व्यवसायमा जोड्नुपर्छ, पूर्व अर्थमन्त्रीसमेत रहनुभएका डा भट्टराईले भन्नुभयो, राजनीतिलाई नितान्त स्वयम्सेवी सेवा बनाउनुपर्छ ।”

उहाँले आफूले यसलाई कार्यनीति नै बनाएर अभियान अघि बढाइएको जानकारी दिनुभयो । कुनै राजनीतिक नेता दोषी ठहर भए पार्टीले निष्कासित हुने व्यवस्था गर्नसके प्रभावकारी हुने तर्क उहाँको थियो ।

उद्योग वाणिज्य सङ्घ चितवनले आज डा भट्टराईसँग उद्योग व्यवसायको प्रवद्र्धन एवम् मुलुकको आर्थिक समृद्धिका विषयमा छलफल गरेको थियो । छलफलमा जिल्लाका व्यवसायीको सहभागिता थियो । “देशलाई एकताबद्ध बनाऔँ, आर्थिकरुपमा समृद्धितर्फ लगौँ” डा भट्टराईको कथन थियो ।

तराईको समस्याका विषयमा तपाईको ढुलमुले व्यवहारजस्तो देखिएको छ नि भन्ने व्यवसायीको प्रश्नमा उहाँले विविधतालाई सम्बोधन गर्ने गरी आधुनिक युगको मूल्यमान्यतालाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । वञ्चितीकरणमा परेका समुदायलाई अधिकार दिनसके मत नबाँझिने भनाइ उहाँको थियो ।

उहाँले वैदेशिक सम्बन्धका विषयमा उल्लेख गर्दै भारत, चीनले सामरिक स्वार्थ राख्ने गरेको प्रष्ट्याउनुभयो । आन्तरिक झगडा हुँदा छिमेकी देशले फाइदा खोज्ने भएकाले आफ्नो समस्या आफैँले हल गर्नुपर्ने उहाँको तर्क थियो । दुईवटै छिमेकीसँग सन्तुलित सम्बन्ध नेपालले राख्नुपर्ने उहाँको भनाइ थियो ।

यसअघि आर्ज उहाँले भरतपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएको थियो । रासस

 

LIVE TV