
नेपालको संविधान अनुकरणीय भएको उपप्रधानमन्त्री कमल थापाको दावी, नेपालको संविधानप्रति औला ठड्याउनेलाई आफ्नै संविधान सच्याउन थापाको चुनौती ।
उप्रधानमन्त्री कमल थापाले संविधानसभाबाट जारी भएको नेपालको नयाँ संविधान अनुकरणीय संविधान भएको दाबी गर्नु भएको छ । उहाँले नेपालको संविधान अग्रगामी भएको पनि प्रष्ट पार्नुभएको छ ।
शनिबार वीरगञ्जमा राप्रपा नेपालद्धारा आयोजित आम सभालाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री समेत रहनु भएका थापाले नेपालको संविधानका बारेमा भारत र युरोपियन युनियनले निकालेको वक्तव्यको आलोचना गर्नुभयो । उहाँले नेपालको संविधानप्रति औंला ठड्याउनेले पहिला आफ्नै संविधानका कमजोरी सच्याउन समेत चुनौती दिनुभयो ।
उपप्रधानमन्त्री थापाले नेपालको संविधानका बारेमा अनावश्यक टिप्पणी सार्वभौमिकतामाथि हस्तक्षेप भएको बताउनुभयो । समानुपातिक समावेशी सहभागिताका सन्दर्भमा अन्य देशको संविधान नेपालको जत्तिको पनि नभएको दाबीसमेत उहाँको थियो । संविधानले तुलनात्मकरुपमा राज्यका सबै निकायमा समानुपातिक समावेशितालाई व्यवस्थित गरेको भन्दै उहाँले संविधानमा भएका असन्तुष्टिहरुलाई संवैधनिक दायराबाटै सम्बोधन गर्न सकिने स्पष्ट पार्नुभयो ।
संविधान निर्माणलाई खेलको नियमसित तुलना गर्दै राप्रपा नेपालका अध्यक्ष समेत रहनु भएका थापाले खेलमा सहभागी सबैले खेलको नियम मान्नुपर्ने तर्क गर्नुभयो । आफ्ना असन्तुष्टिलाई लिएर शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारलाई संविधानले सुनिश्चित गरेको भन्दै उहाँले असन्तुष्टिको समाधानसमेत नियामानुसार नै हुने बताउँनु भयो ।