२० चैत्र २०७२, शनिबार

भारत र युरोपेली युनियनको धारणाप्रति नेकपा माओवादी क्रान्तिकारी आक्रोशित, मन्त्रिपरिषद्को वैठक मार्फत सरकारले दिएको जवाफ सकारात्मक 

नेकपा माओवादी क्रान्तिकारीकी प्रवक्ता पम्फा भुषालले भारत र युरोपेली युनियनले नेपालको संविधानको बारेमा निकालेको विज्ञप्तीप्रति खेद प्रकट गर्नुभएको छ । उहाँले भारत र युरोपेली युनियनले नेपालको स्वाधीनतामाथि ठाडो हस्तक्षेप गरेको समेत बताउनुभयो ।

एकीकृत नेकपा माओवादी सँग हुने भनिएको पार्टी एकताको लागि बसेको बैठकमा सञ्चारकर्मीसंग कुरा गर्दै भुषालले नेपालको राजनीति र राजनीतिक समस्या नेपालको आन्तरिक विषय भएकाले यसमा छिमेकी मुलुक र विभिन्न युनियनले विज्ञप्ती जारी गर्दै हस्तक्षेप गर्नु उचित नभएको बताउनुभयो । उहाँले सरकारले मन्त्रिपरिषदको बैठकबाट आएको हस्तक्षेप विरुद्धको धारणा सकारात्मक भएको बताउँदै छिमेकी मुलुकको हस्तक्षेप बढ्नुमा नेपाल सरकार जिम्मेवार भएको पनि प्रष्ट पार्नुभयो ।

प्रवक्ता भुषालले नेकपा माओवादी क्रान्तिकारी र एकीकृत माओवादीको पार्टी एकीकरणको बारेमा छलफल जारी रहेको बताउनुभयो । उहाँले एकीकरणका लागि पुरानो विचारधारा अन्तर्गत रहने या फरक भएर पेश हुने भन्ने प्रश्न उब्जेकाले एकीकरणका बारेमा अझै टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी विचारधारामा आस्थावान शक्तिहरु एक हुनु पर्ने धारणा राख्दै एकताका लागि पहल गर्दै आउनु भएको छ ।

 

LIVE TV