२० चैत्र २०७२, शनिबार

काठमाडौँ, सबै किसिमका वंशाणुगत रोगको सूक्ष्म परीक्षण गर्न अत्याधुनिक वंशाणु प्रयोगशाला (जेनेटिक ल्याब) आगामी वैशाखबाट सुरु हुने भएको छ ।

genetic-Lab
वीर अस्पतालले करिब रु सवा दुई करोडको लगानीमा सुरु गर्न लागेको जेनेटिक ल्याबका सम्पूर्ण आवश्यक मेसिनरी सामग्री आइपुगेको र सामग्री जडानलगायतको आन्तरिक काम सुरु भइरहेको जनाएको छ ।

अस्पतालले नेपालमै पहिलो पटक सबै किसिमका वंशाणुगत रोग र डिअक्सिराइबो न्यूक्लिक एसिड (डिएनए) पत्ता लगाउन ल्याब सञ्चालन गर्न लागेको हो ।

पछिल्लो समयमा वंशाणुगत रोगको सङ्क्रमण तीव्ररुपमा बढिरहेका कारण अस्पतालमा जेनेटिक ल्याब सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले ल्याब सञ्चालन गर्न लागिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रेक्टर प्रा डा रङ्गबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सरकारी तवरमा नेपालमै यस किसिमको ल्याब वीर अस्पतालले पहिलो पटक राख्न लागेको हो । उहाँले भन्नुभयो– “अबको समयमा डिएनएमात्र नभएर सबै किसिमका वंशाणुगत रोगलाई सूक्ष्म तरिकाबाट परीक्षण गरी सही उपचार पद्धति अपनाउन जेनेटिक ल्याब उपयोगी हुन्छ । ल्याब सञ्चालन भएसँगै सर्ने वा नसर्ने कुन प्रकारको वंशाणुगत रोग हो भन्ने कुरा छुट्याउन सहज हुनेछ ।”

“कसैको परिवारमा वंशाणुगत रोग छ भने परीक्षणपछि त्यो सर्ने वा नसर्ने पत्ता लगाउन सजिलो हुन्छ”– बस्नेतले रासससँग भन्नुभयो– “सर्ने नै किसिमको छ भने परीक्षण गरिसकेपछि रोगलाई न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्न सजिलो हुन्छ ।”

वीर अस्पतालले ल्याब सञ्चालन गर्न जेनेटिक एकाइमा कार्यरत वंशाणुगत रोग विशेषज्ञ डा नीलम ठाकुर र दुई जना ल्याब प्राविधिकलाई श्रीलङ्काबाट तालिमसमेत उपलब्ध गराइसकेको छ । अस्पतालले अन्य आवश्यक जनशक्ति तयार गर्दै जाने बताएको छ ।

वंशाणुगत रोगका विषयमा अध्ययन गर्ने डा ठाकुर नेपालकै पहिलो चिकित्सक हुनुहुन्छ । वीर अस्पतालका निर्देशक डा स्वयम्प्रकाश पण्डितका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा ल्याब सञ्चालन गर्न लागिएको हो ।
वीर अस्पतालले जेनेटिक ल्याब सुरु गरेसँगै परीक्षण शुल्क पनि निकै सस्तो हुने डा बस्नेतको भनाइ छ ।
उहाँले विदेशमा जेनेटिक परीक्षण कम्तीमा रु १२ हजारबाट सुरु हुने भएकाले नेपालमा यो सेवा सुरु भएपछि त्यसको आधा शुल्क लाग्ने बताउनुभयो । ल्याब स्थापनासँगै परीक्षणका लागि विदेशमा गएर खर्च र रकमको पनि बचत हुनेछ भने नेपालमा जेनेटिक ल्याब नहुँदा वार्षिक करोडौँ रुपैयाँ विदेशिने गरेको छ ।

के हो जेनेटिक ल्याब ?

जेनेटिक ल्याब क्रोमोजोमभित्र रहेका जिनलाई सूक्ष्म तरिकाले अध्ययन गर्ने ल्याब हो । यो परीक्षण भएपछि कुनै वंशाणुगत रोग छ भने सर्छ वा सर्दैन र सर्ने भए कति प्रतिशतसम्म सर्ने सम्भावना रहन्छ भन्ने कुराको पहिल्यै जानकारी पाउन सकिन्छ ।

डा बस्नेतका अनुसार कतिपय प्रकारका क्यान्सर पनि सर्छ वा सर्दैन भन्ने कुरा ल्याबपछि पत्ता लाग्छ । जेनेटिक रोगका ३५ हजार प्रकार हुन्छन् । यो रोग पत्ता लागेपछि यसको उपचार वा रोकथाम गर्न सजिलो हुन्छ । यसरी ल्याबबाट मानिसमा वंशाणुगत रोगको जिन छ कि छैन भनी पत्ता लागेमा समयमै सर्तक हुन र उपचार पद्धतिमा जान सकिने डा बस्नेतको भनाइ छ ।

नेपालमै ल्याब सञ्चालनमा आएपछि छिटो उपचार हुने र कम खर्च भए पुग्ने यो रोग पत्ता लागेपछि चिकित्सकलाई सही सल्लाह र उपचार दिन सजिलो हुने विश्वास लिइएको छ ।

यसअघि विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले रगतको माध्यमबाट डिएनए मात्र परीक्षण गर्दै आएको थियो तर वंंशाणुगत रोगको सूक्ष्म परीक्षणका लागि नेपालमा कुनै ल्याब नभएका कारण भारतलगायत विभिन्न देशमा पठाइने गरिएको छ । रासस

 

LIVE TV