
पोखरा, पोखरालाई पूर्ण रुपमा प्लास्टिकमुक्त क्षेत्र कायम गराउन जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ नगेन आर्ट ग्यालरीको संयोजनमा सञ्चारकर्मी एवम् कलाकर्मी ज्योति हमालले आज २४ घन्टे जीवन्त कला प्रदर्शनी (पर्फमेन्स आर्ट) सुरु गर्नुभएको छ ।
शरीरमा प्लास्टिकका झोला, चम्चा, सडकका प्लास्टिकजन्य सामान टाँसेर उहाँले पोखरा उपमहानगरपालिका वडा नं ७ स्थित चचहुई फनपार्कमा जनचेतना जगाउन अपराह्न ४ बजेदेखि उक्त प्रदर्शनी गर्नुभएको हो । कलाकार हमालको शरीरमा प्लास्टिकको फोहरजन्य सामान टाँसेर पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले प्रदर्शनीको उद्घाटन गर्नुभयो । कार्यक्रमका अन्य अतिथिले पनि कलाकार हमालको शरीरमा प्लास्टिकजन्य फोहर टाँस्नुभएको थियो ।
सो अवसरमा कार्यकारी अधिकृत अधिकारीले उपमहानगरपालिकालाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियान सफल पार्न यस किसिमको जनचेतनामूलक प्रदर्शनी अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । यस्तो प्रदर्शनी नेपालमा दोस्रो भए पनि पोखरामा पहिलो हो । दश वर्षदेखि क्रियाशील हमालले आफ्नो शरीरलाई नै कलाका रुपमा प्रस्तुत गर्दै यस किसिमको प्रदर्शनी गर्नुभएको नगेन आर्ट ग्यालरी निर्देशक सहवीर गुरुङले बताउनुभयो ।
नेपालमा सन् १९९५ देखि यस किसिमको कला भित्रिएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य नगेन सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन समयमा बङ्गलादेशी कलाकारले पोखराको लुम्लेमा आएर यस किसिमको प्रदर्शनी गरेका थिए ।
काठमाडौँमा गत वर्ष सिटी म्युजियममा कलाकार अस्मिना रञ्जितले यस किसिमको प्रदर्शनी गर्नुभएको थियो । “पर्फमेन्स आर्टमा कलाकारले आफ्नो शरीरलाई नै कलाका रुपमा प्रस्तुत गर्छन्”, उहाँले भन्नुभयो, “प्रदर्शनीका लागि यसमा कुनै कथा पूर्ववत् रुपमा लेखिँदैन, कलाकारले आफ्नो शारीरिक प्रस्तुतिबाटै विभिन्न सन्देश प्रवाह गर्छ ।” रासस