१९ चैत्र २०७२, शुक्रबार

बाँके, सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा न्यायका लागि नियमावली तयार भएपछि सोसम्बन्धी बनेको आयोगले काम सुरु गरेको छ ।

beppata
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितको न्यायका लागि आगामी वैशाख २ गतेदेखि जेठ मसान्तसम्म उजुरी आह्वान गरेको आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले बताउनुभयो ।

आयोगद्वारा आज नेपालगन्जमा आयोजित पीडित तथा सरोकार भएकाहरुसंँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष मल्लिकले पीडितले गोप्य रुपमा उजुरी दिन चाहेमा साक्षीको सुरक्षा लगायत ऐन परिमार्जनमा प्रयत्नशील रहेको बताउनुभयो ।

उहाँले आठ महिनाको सङ्घर्षपछि गत फागुन ३० गते नियमावली आएकाले पीडितहरूको न्यायको ढोका खुलेको बताउँदै भन्नुभयो, “अब कानुन अनुसारको प्रक्रिया अघि बढ्छ, पीडित सबैले न्याय पाउनुहुन्छ ।”

आयोग गठन भएको १४ महिनापछि बाँकेका पीडितका समस्या बुझ्न यहाँ आएको आयोगको टोलीसंँग पीडितले भावपूर्ण तरिकाले आफ्ना समस्या राख्दै जतिसक्दो चाँडो न्याय दिलाउनुपर्ने माग गरेका छन् ।

उनीहरूले बेपत्ता पारिएका व्यक्तिको मृत्यु भएको भए सहिद घोषणा गर्नुपर्ने माग पनि राखे । रासस

 

LIVE TV