१९ चैत्र २०७२, शुक्रबार

काठमाडौँ, व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको बैठकमा सांसदले खेलकुदको क्षेत्रमा सोचेअनुरुप काम हुन नसकेको धारणा राख्नुभएको छ ।

समितिअन्तर्गतको खेलकुद उपसमितिको आज बसेको बैठकमा पूर्वाधार निर्माण, खेलाडीलाई प्रशिक्षण, निरन्तर प्रतियोगिता र खेलाडीलाई गर्नुपर्ने प्रोत्साहन हुन नसकेको सांसदको भनाइ थियो । समितिले चालु आवमा युवा तथा खेलकुद मन्त्रालयका लागि विनियोजित बजेट र सोअनुसारको कामकारबाही तथा भावी योजनाका बारेमा जानकारी दिन आयोजित बैठकमा खेलाडीलाई आर्थिक अवस्था कमजोर हुँदा ‘गेम फिक्सिङ’ गर्नुपर्ने जस्तोे अवस्था सिर्जना गर्न नहुने बताउनुभयो ।
समितिका सभापति रञ्जु झाले खेलकुद राष्ट्रको गौरव बढाउने क्षेत्र भएकाले त्यसमा राज्य लगानी पर्याप्त मात्रामा गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले युवा तथा खेलकुद क्षेत्रमा बजेट अत्यन्तै न्यून रहेको र आगामी योजनामा पनि बजेटको कमीले कागज भर्ने मात्र काम भएको गुनासो गर्नुुभयो । खासगरी सो क्षेत्रमा पूर्वाधार निर्माणका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने र खेलाडीलाई नियमित प्रशिक्षण गर्नुपर्ने देखिएको बताउँदै उहाँले नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता गर्नुअघि निकै पूर्वाधारको विकास जरुरी छ भन्नुभयो । भूकम्पपछि पुनःनिर्माण गर्नुपर्ने धेरै स्थान भए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सूचीमा खेलकुदको कुनै विषय नरहेको सचिव मैनालीको भनाइ थियो ।

सांसद तथा पूर्वखेलाडी मोहन राईले प्राकृतिक र भौगोलिक दृष्टिकोणले नेपाल खेलका लागि निकै उपयोगी ठाउँ भएको बताउँदै खेलकुदको पूर्वाधार निर्माणका लागि रु एक खर्ब बजेटको आवश्यकता पर्ने धारणा राख्नुभयो ।

सांसद बाबुराम पौडेल, डा गणेशमान गुरुङ, निशाकुमारी शाहलगायतले पूर्वाधार अभावका कारण खेलकुदका क्षेत्रमा जुन रुपमा उपलब्धि हासिल गर्नुपर्ने हो त्यो हुन नसकेको कुरा राख्नुभएको थियो । रासस

 

LIVE TV