मध्यपश्चिमका जिल्लाहरुमा सबैभन्दा बढी बेरुजु जिल्ला विकास समिति मुगुको थाप्लोमा, ३० करोड बेरुजुृ देखिएकोमा ४२ लाख रुपैयाँ मात्र फर्छयौट
जिल्ला विकास समिति मुगुले आफ्नो बेरुजु फर्छयौट गर्न नसकेपछि मध्यपश्चिमका जिल्लाहरुमा मुगु जिविस सबैभन्दा बढी बेरुजु बोक्ने जिविस बनेको छ । आर्थिक वर्ष ०७१।०७२ सम्मको लेखा परीक्षण गर्दा सम्म जिविस मुगुको नाममा ३० करोड रुपैया बेरुजु रहेकोमा जममा ४२ लाख रुपैयाँ मात्र फर्छयौट गरेको देखिएको छ ।
चालु आर्थिक वर्ष २०७२ । ०७३ का लागि जिल्ला विकास समितिले विकास खर्च तर्फ विनियोजन गरेको बजेट मध्ये हालसम्म ६ करोड ४७ लाख ८१ हजार २ सय दश रुपैयाँ मात्र खर्च भएको जिल्ला विकास समिति मुगुले जनाएको छ । जिविस मुगुले चालु आर्थिक वर्षका लागि कुल विनियोजन गरेको कुल ४१ करोड ९३ लाख ७६ हजार ५ सय ६७ रुपैयाँ मध्य आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकि रहँदा ६ करोड ४७ लाख ८१ हजार रकम मात्र खर्च भएको हो । कहिले जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी उपस्थित नहुनु , कहिले लेखा अधिकृत नहुने र समयमा नै उपभोक्ता समितिले योजना सम्झौता गर्न नआउनुले पनि समयमा नै विकास बजेट खर्च हुन नसकेको जिविस मुगुले जनाएको छ । एक त मन्त्रालयबाट नै बजेटको निकासामा ढिलाई हुने गरेका कारणले पनि बजेट खर्च हुन नसकेको जिल्ला विकास समिति मुगुका लेखापाल ईश्वरी अधिकारी बताउँनु हुन्छ ।
हिउँदमा जाडोले समयमा काम हुन नसकेको, केही समय परिषदमा नै अलमलिनु परेका कारण सोचे जति बजेट खर्च हुन नसकेको र आर्थिक वर्षको अन्त्यसम्म सबै बजेट खर्च हुने जिल्ला विकास समिति मुगुका स्थानीय विकास अधिकारी प्रल्हादप्रसाद पुडासैनी बताउँनु हुन्छ । दलिय विवादका कारण निर्वाचन क्षेत्र विकास कार्यक्रमको १ करोड पचास लाख रकमका योजनाहरु पनि अहिलेसम्म विवादित अवस्थामा नै रहेको पनि पुडासैनीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा मात्रै जिल्ला विकास समिति मार्फत साना ठूला गरेर ८५ वटा योजना प्राथामिकतामा राखिएको भए पनि हाल सम्म १०÷ १२ वटा योजना मात्र सम्पन्न भएका छन् ।