१८ चैत्र २०७२, बिहीबार

जनकपुरधाम, टुडे सञ्चार समूहका अध्यक्ष अरुण सिङ्घानिया हत्याका योजनाकार जनतान्त्रिक टाइगर जनशक्ति पार्टी नामक भूमिगत सङ्गठनका अध्यक्ष धर्ती सिंह भनिने चनरदीप यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा यादवलाई आज सार्वजनिक गरिएको कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले सिङ्घानियाको गोली हानी हत्या गरेको घटनामा यादवले योजनाकार तथा मुख्य व्यवस्थापकीय भूमिका खेलेको बताउनुभयो ।

उहाँले यादव विगत छ महिनादेखि धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा जनतान्त्रिक टाइगर जनशक्ति पार्टी नामक भूमिगत समूह सञ्चालन गरी हत्या, हिंसा, चन्दा असुलीजस्ता आपराधिक गतिविधिसमेत सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

२०६६ साल फागुन १७ गते सञ्चार उद्यमी सिङ्घानियाको हत्यापछि अनुसन्धानका क्रममा सो हत्यामा यादवको संलग्नता सार्वजनिक भएपछि यादव २०७० फागुन २६ गतेदेखि घरबाट फरार भएका थिए ।

जिल्ला र अञ्चल प्रहरी कार्यालयको टोलीले जनकपुर उपमहानगरपालिका–१ वकिल टोलबाट यादवसहित अन्य पाँच जनालाई बुधबार पक्राउ गरेको हो ।

धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका–२ राधापुरका ३६ वर्षीय यादव सिङ्घानियालगायत विनोद गोहितमानको हत्या घटनामा पनि मुख्य योजनाकार रहेको जनाइएको छ ।

यादवमाथि नेपाली काँग्रेसका कार्यकर्ता राजेन्द्र यादवलाई गोली हानी हत्या र सोही दलका नसिम राईन र राम सोगारथ महतोलाई गोली हानेको आरोप पनि लगाइएको छ ।

पक्राउ परेका अन्य अभियुक्तमा बालाबाखरकी ३५ वर्षीया कल्याणी देवी, गणेशमान नगरपालिकाका १९ वर्षीय रवीन यादव, सोही नगरपालिकाका ४६ वर्षीय रामसुन्दर यादव र सबैला नगरपालिकाका २१ वर्षीय सुन्देश्वर ठाकुर रहेका छन् ।

प्रहरी नायब महानिरीक्षक उपाध्यायले सिङ्घानियाको हत्याको कारण अहिले पनि अनुसन्धानको विषय रहेको बताउनुभयो । रासस

 

LIVE TV