१८ चैत्र २०७२, बिहीबार

काठमाडौँ, नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आगामी दुई वर्षभित्र हुने आम निर्वाचनको समयसम्म प्रमुख राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

yogesh-bhattarai
प्रेस चौतारी नेपाल, रासस शाखाको दोस्रो अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रममा सचिव भट्टराईले भन्नुभयो, “जसरी संविधान निर्माणमा दलबीच सहमति भएको थियो, त्यसैगरी संविधानको कार्यान्वयनका लागि पनि ती दलको सहकार्य आवश्यक छ ।”

संसद्को ठूलो दल नेपाली काँग्रेसलाई सरकारमा आउनुपर्ने भए स्पष्ट अगाडि कुरा गर्न आग्रह गर्दै उहाँले वर्तमान सरकारको नेतृत्वमा आएर निर्वाचनमा जान आह्वान गर्दै उहाँले भन्नुभयो, “संविधान घोषणा भएको भोलिपल्ट संविधान च्यात्ने अनि फेरि सरकारमा जाने प्रकारको राजनीतिक स्वार्थको लडाइँका नाममा मुलुकलाई बन्धक वा अधोगतिमा पार्न सकिँदैन । लामो समय सरकारको नेतृत्व गरेको काँग्रेस केही समय प्रतिपक्षमा बस्दा पनि फरक चाँही पर्दैन ।”

उहाँले काँग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै सरकार के गर्ने भन्नेबारेमा छड्के आँखा लगाएर अन्य साना दलसँग कुरा गर्नतिरभन्दा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधै वार्ता गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनपछि भने दुई ठूला दल सँगै सरकारमा रहिरहन आवश्यक नभएको पनि उहाँले स्पष्ट गर्नुभयो ।

‘संस्थानमा नियुक्तिको जिम्मा लोकसेवालाई’

उहाँले सरकारी संस्थानका व्यवस्थापकको नियुक्तिको जिम्मा पनि लोकसेवा आयोगलाई दिनुपर्ने भन्दै सरकार परिवर्तनसँगै राजनीतिक नेतृत्व आउने जाने र संस्थाको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले लोकसेवा आयोगले संस्थानका अध्यक्ष वा महाप्रबन्धक नियुक्तिको जिम्मा लिँदा उपर्युक्त हुने बताउनुभयो ।

सरकारी सञ्चारमाध्यममा विगतदेखि नै निश्चित पार्टीको प्रभाव देखिएको गुनासो आएको भन्दै उहाँले परिपाटी कस्तो बसाल्ने भन्नेबारेमा छलफल गर्नुपर्ने उल्लेख गर्नुभयो । एमालेका केन्द्रीय प्रचार विभागका प्रमुखसमेत रहनुभएका भट्टराईले सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई कसरी सञ्चालन गर्ने भन्नेबारेमा पछिल्ला समयमा बहस हुँदै आएको सन्दर्भमा यी संस्थालाई स्वायत्तता र सुदृढीकरणका लागि एमाले उदार रहेको बताउनुभयो ।

भट्टराईले भन्नुभयो, “लोकतान्त्रिक अध्यास भएको अमेरिकामा राष्ट्रपतिको नयाँ निर्वाचनपछि अघिल्ला सरकारका नियुक्ति परिवर्तन हुने दृष्टान्त छ । नेपालमा कस्तो अभ्यास अवलम्बन गर्ने भन्ने सम्बन्धमा राजनीतिक सहमतिका आधारमा निचोडमा पुग्नु आवश्यक छ ।”

व्यावसायिक पत्रकारिताको वकालत गर्ने तर व्यवहारमा राजनीतिक उद्देश्य पूर्तिमा लाग्ने प्रवृत्तिको आलोचना गर्र्दै आफ्नो पार्टी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितमा प्रतिबद्ध भएको बताउनुभयो । उहाँले अबको समयमा राससलाई विदेशमा पनि संवाददाता राख्न सक्ने गरी क्षमता विकास गर्न पनि सुझाव दिनुभयो ।

चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले राससलाई सार्कस्तरको समाचार संस्था र सूचना बैंकका रुपमा रुपान्तरण गर्नुपर्ने बताउँदै श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन सरकारी सञ्चारमाध्यमबाटै हुनुपर्नेमा जोड दिनुभयो ।

राससका अध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारिताको व्यावसायिकतालाई कायम राख्दै राससलाई अगाडि बढाइएको बताउनुभयो ।

चौतारीका प्रतिष्ठान इञ्चार्ज तथा केन्द्रीय सदस्य शुरोजङ्ग पाण्डेले सङ्गठन आगामी जेठको पहिलो साता महाधिवेशनको तयारीमा जुटेको बताउँदै रासस शाखाको रचनात्मक कामको प्रशंसा गर्नुभयो ।

सम्मान र पुरस्कार वितरण

शाखाले राससका नायब महाप्रबन्धक तथा सञ्चालक समितिका सदस्य सुरेन्द्रबहादुर नेपालीलाई सम्मान गरेको छ भने महोत्तरी (बर्दिवास) समाचारदाता गोपालप्रसाद बराललाई पुरस्कृत गरेको छ । पुरस्कारको राशि नगद रु पाँच हजार रहेको छ ।

शाखाका संस्थापक अध्यक्ष तथा पुरस्कार चयन समितिका सदस्य प्रकाश सिलवालले नेपालीले लामो समयदेखि राससमा दिनुभएको योगदानका लागि र जिल्लामा रहेर क्रियाशील रहेबापत बराललाई सम्मान र पुरस्कृत गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा चौतारीका केन्द्रीय सल्लाहकार गणेश बस्नेत, राससका महाप्रबन्धक निर्मला आचार्य, चौतारीका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, महासचिव माधव नेपाललगायतको उपस्थिति थियो । शाखाका अध्यक्ष कालिका खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष कृष्णराज गौतमले स्वागत मन्तव्य दिनुभएको थियो । रासस

 

LIVE TV