
चितवन, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले वर्षात् सुरु हुनु अगाडि नै पुनःनिर्माणको काम सम्पन्न हुने बताउनुभएको छ ।
आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले कार्ययोजना तयार गर्न ढिलाइ भएकाले पुनःनिर्माणका कार्य ढिला भएको स्पष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री गच्छदारले वर्षात् सुरु हुनुअघि नै भूकम्प प्रभावित जनतालाई आवास निर्माणको काम सक्ने गरी सरकारले काम गरिरहेको दावी गर्नुभयो ।
सरकारको मुख्य प्रथामिकता विकास निर्माण रहेको भन्दै उहाँले विकास निर्माण र पुनःनिर्माणको कामलाई सँगसँगै अगाडि बढाउने बताउनुभयो ।
भारतसँगको चिसिएको सम्बन्ध सुधारका लागि भारत भ्रमण र ऊर्जा सङ्कटबाट मुलुकलाई माथि उठाउन चीन भ्रमण फलदायी रहेको उहाँको भनाइ थियो ।
वार्ताकै माध्यमबाट मधेसका मुद्दा र राजनीतिक मुद्दा समाधान गर्नुपर्ने बताउँदै उपप्रधानमन्त्री गच्छादारले संविधान संशोधन गरेर सबै समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो ।
उहाँ नेपाल निर्माण व्यवसायी महासङ्घको १८ औँं साधारणसभा एवम् रजतजयन्ती सुभारम्भमा सहभागी हुन चितवन आउनुभएको हो । उहाँको दुई दिनसम्म चितवनमा रहने कार्यक्रम छ । रासस