१६ चैत्र २०७२, मंगलवार

गृह मन्त्रालय अन्तर्गतका जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुबाट दिइने सेवाहरुलाई छिटो, छरितो र व्यवस्थित गर्न सिएमआईएस प्रविधि प्रयोग गरिने भएको छ ।

सिएमआईएस प्रविधि लागू भएपछि सेवाग्राहीहरुलाई नागरिकता र पासपोर्ट बनाउन कागज बोक्ने झण्झट हट्नेछ भने सेवाग्राहीको फोटो र औठा छाप समेत संकलन हुने भएकाले शान्ति सुरक्षा र अपराध अनुसंधानमा समेत सहयोग पुग्नेछ । गृह मंत्रालयमा ई गभर्नेन्स लागू गर्ने उद्देश्यले सूचना प्रविधिको अधिक प्रयोग गराउन यस अन्तर्गतका कर्मचारीहरुलाई यस सम्बन्धी तालिम आयोजना गरिएको छ ।

विराटनगरमा आयोजना गरिएको क्षेत्रीय तालिममा पूर्वाञ्चलका १६ जिल्ला प्रशासन कार्यालय, ९ वटा इलाका प्रशासन कार्यालय र एउटा क्षेत्रीय प्रशासन कार्यालयका ३५ जना प्राविधिक कर्मचारीहरु सहभागी छन् । उनीहरुलाई सिएमआईएस प्रविधि, जिल्ला वेबसाइट, ई एटेन्डेन्स, पेपर डकुमेण्ट अर्काइभ जस्ता सफ्टवेयरहरु बारे तालिम दिइनेछ । गृह मंत्रालयले इ गभर्नेन्स अन्तर्गत १ करोड ३७ लाख नागरिकताको केन्द्रिय सर्भरमा अभिलेखिकरण गरिसकेको छ । यसैगरी पूराना डकुमेण्टहरु स्क्यान गरी अभिलेखिकरण गर्ने तयारी गरिरहेको छ ।

 

LIVE TV