
काठमाडौँ- श्रम तथा रोजगार मन्त्री दिपक बोहरा र आन्दोलनरत वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रतिनिधिबीच आज वार्ता भएको छ ।
मन्त्रालयमा आज दिउँसो भएको वार्तामा फागुन २३ गतेदेखि बन्द रहेका म्यानपावर कार्यालयका कामकारबाही सञ्चालन गर्ने विषयमा केन्द्रित रहेको थियो ।
प्रहरीले गत फागुन १२ गते १८ म्यानपावर कार्यालयमा छापा मोरर केही सञ्चालकलाई पक्राउ गरेपछि त्यसको विरोधमा व्यवसायीले विभिन्न माग राख्दै कामदार विदेश पठाउन रोकेका थिए । उनीहरुले भद्रअवज्ञा भन्दै पूर्व र अन्तिम श्रम स्वीकृति लिन रोकेका थिए ।
सङ्घका महासचिव रोहन गुरुङले आजको वार्तामा सामान्य छलफल मात्रै भएको बताउँदै सरकार र व्यवसायी दुवैले आफ्नो धारणा राख्ने काम भएको बताउनुभयो । उहाँले भोलि पनि वार्ता गर्ने र निष्कर्षमा पुग्ने टुङ्गोका साथ आजको छलफल सकिएको बताउनुभयो ।
वार्तामा मन्त्री बोहराले कार्यालय खोलेर काम सञ्चालनमा ल्याउन व्यसायीलाई आग्रह गर्दै माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । रासस