नाकाबन्दी खुलेको दुई महिना वित्नै लाग्दा पनि खाना पकाउँने ग्याँसको अभाव यथावत, अझै ग्याँस अभाव हुनु लज्जास्पद भएको आयल निगमको स्वीकारोक्ति
काठमाडौँ- भारतीय नाकाबन्दी अन्त्य भएको दुई महिना वित्नै लाग्दा पनि जनताको चुलोमा ग्याँस बल्न सकेको छैन । कालोवजारी र सिन्डिकेटले आजित जनता ग्याँस व्यावसायीहरुको चरम अभाव सहन वाध्य छ । यो भयावह अवस्था सिर्जना हुँदा पनि सरकार र जनताकोलागि राजनीति गरेको भनेका दलहरु मुकदर्शक भएर बसेका छन् ।
जनताले खाना पकाउने ग्याँस सहजरुपमा नपाएको आठ महिना हुन लाग्यो । चौतर्फी समस्यावाट आजित जनताले घरमा खाना पकाउन समेत सहज नहुँदा कस्तो दूर्दशा सहनु परेको होला ? घाम जत्तिकै छर्लङ्ग छ ।
मङ्गलवार राजधानीमा सत्तारुढ दल नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले ग्याँस कालोजवारी र अभाववारे रत्नराज्य क्याम्पस अगाडि एक कार्यक्रम सञ्चालन गर्यो । जहाँ ग्याँस कालोवजारीलाई व्यङ्ग गर्दै र सरकारको लाचारी प्रस्टाउँदै बद्री पगेंनी लगायतका गायकहरुले सागीतिक कार्यक्रमसमेत प्रस्तुत गरे ।
कार्यक्रममा मानवअधिकारवादी नेता एवं इन्सेक अध्यक्ष सुवोध प्याकुरेलले जनताको चुलोसमेत नवल्ने अवस्था आउँदा सरकार र दलहरु चुप लागेर बस्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको आरोप लगाउनुभयो ।
तर नेपाल आयाल निगमका महानिर्देशक गोपाल खड्काले ग्याँस अभाव हुनु शर्मनाक कुरो भएको स्वीकार्दै निगमको तर्फवाट अधिकतम कार्य भईरहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा विद्यार्थी संगठनका नेताहरुले अवको केही दिनभित्रपनि ग्याँस सहज नभए भयानक आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
सरकारको लाचारी, आयल निगमको अनियमितता र ग्याँस व्यावसायीहरुको खुलम्खुल्ला कालोवजारीका कारण सर्वसाधारणहरु खाना पकाउने ग्यासँ नपाई सास्ती खेप्न वाध्य छन् । जनताको दुखः बुझ्न र सुन्न नसक्ने सरकार र राजनीतिक दलहरु भएको देशमा जनताले दुखः नपाए कसले पाउने हो र !