१६ चैत्र २०७२, मंगलवार

काठमाडौँ-  सरकारको विकास खर्चको अवस्था निकै निराशजनक रहेको छ । बजेट भाषणमा पुँजीगत खर्चलाई जतिसुकै प्राथमिकता दिएता पनि यर्थाथमा विकास खर्च निराशाजनक रहेको छ । चालु आर्थिक बर्षको फागुन मसान्त सम्मको बिकास खर्च करीव १२ प्रतिशत मात्र खर्च भएको छ ।

सरकारले बजेटमा पुँजीगत खर्चलाई प्राथमिकता दिएता पनि आर्थिक बर्षको ८ महिना पूरा भइसक्दा पनि विकास खर्च हुन सकेको छैन । अर्थ मन्त्रालयका अनुसार बजेटम पुँजीगत खर्च तर्फ २ खर्व ८ अर्व ८७ करोड ७२ लाख विनियोजन गरेको भएता पनि आर्थिक बर्षको ८ महिना बितिसक्दा फागुन मसान्त सम्म जम्मा २५ अर्व ७४ करोड २५ लाख मात्र खर्च भएको छ । भूकम्प, मधेश आन्दोलन र भारतको नाकाबन्दीको कारण सरकारले पुँजीगत खर्च बृद्धि गर्न नसकेको दावी गरेको छ तर अर्थ मन्त्रालयले बिभिन्न विकास मन्त्रालयहरुलाई बिनियोजन गरेको विकास खर्च पनि हुन सकेको छैन । सरकारले प्राथमिकता दिएको राष्ट्रिय गौरवको आयोजनाहरुमा पनि खर्च हुन सकेको छैन ।

रााष्ट्रिय गौरवको आयोजनाहरु निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल,राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति,पुष्पलाल लोकमार्ग, (मध्यपहाडी लोकमार्ग ) ,काठमाडौ तराई मधेश फाष्ट ट्रयाक,उत्तर दक्षिण लोकमार्ग (कर्णाली,कालिगण्डकी र कोशी हुलाकी राजमार्ग, हुलाकी राजमार्ग,मेलम्ची खानेपानी आयोजना,बबई सिँचाई आयोजना,सिक्टा सिँचाई आयोजना,रानी जमरा कुलरिया सिँचाई आयोजना,भेरी बबई डाईभर्सन बहुउदेश्यीय आयोजना,पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल,माथिल्लो तामाकोशी जलबिद्युत आयोजना,भैरवहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल,पश्चिम सेती जलबिद्युत आयोजना लगायतका विकास आयोजनाहरु पनि प्रभावकारी रुपमा खर्च हुन सकेको छैन ।

सरकारले भूकम्प पीडित जनताको पुर्नवास र पुर्ननिर्माणको लागि बिनियोजन गरेको बजेट पनि पुर्ननिर्माण प्राधिकरणले खर्च गर्न सकेको छैन । नेपाल निर्माण ब्यवसायी महासघले पनि सरकारको विकास खर्च हुन नसकेको र निर्माण तथा पुवाधारको भुक्तानीमा ढिलासुस्ती हुने गरेको बताएको छ । नेपालमा हरेक आर्थिक बर्षको अन्ततिर रातारात विकास बजेट सिध्याउने प्रबृत्ति छ । यस्तो खालको प्रबृत्तिले गर्दा विकास बजेट समयमा खर्च नहुने अवस्था रहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन । नेपालमा विकास बजेट खर्च हुन नसकेको अवस्थालाई दाताहरुले गम्भीर चासोको साथ लिएका छन ।

 

LIVE TV