१५ चैत्र २०७२, सोमबार

बनेपा, उपभोक्ताले काभ्रेपलाञ्चोकमा विद्युत्को पहुँच नभएको ठाउँमा लघुजलविद्युत् आयोजनाको माग गर्न थालेका छन् ।

hydro-electricity
जिल्लाको महाभारत शृङ्खलाडाडाँपारिको गाविस फलामेटारमा थप दुईवटा जलविद्युत् आयोजनाको माग भएको जिविस, वातावरण तथा ऊर्जा एवम् जलवायु परिवर्तन शाखाका प्रमुख अन्जित गौतमले जानकारी दिनुभयो । लघुजलविद्युत् आयोजनामा उपभोक्ता र सरकारको ५०÷५० प्रतिशत अनुदान हुनेछ ।

“हामीले सञ्चालन गरेको लघुजलविद्युत् आयोजना निर्वाहमुखी हो, यसले न्यूनतम आवश्यकता पूर्ति गर्नेबाहेक केही हँुदैन” उहाँले भन्नुभयो । सडक नपुगेका कारण विद्युत्को केन्द्रीय प्रसारण लाइन लैजान कठिनाइ भएको महाभारत शृङ्खलाडाडाँपारिका ११ गाविसमा विद्युत्को विकल्पका रुपमा लघुजलविद्युत् आायोजना लोकप्रिय भएको छ ।

भूकम्पका कारण क्षतिग्रस्त भएका करिब १० वटा लघुजलविद्युत् आयोजना मर्मतपछि सञ्चालनमा आएका छन् । लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुनुका साथै सानासाना उद्यमसमेत सञ्चालन भएका छन् ।

जिल्लामा करिब ३० वटा लघुजलविद्युत् आयोजना रहेका छन् । प्रतिकिलोवाट रु चार लाख बराबरको लगानी रहेका जलविद्युत् आयोजना तीन किलोवाटदेखि ४५ किलोवाटसम्मका रहेका छन् भने सात हजार घरधुरीले त्यसको लाभ लिएका छन् । रासस

 

LIVE TV