१५ चैत्र २०७२, सोमबार

भद्रपुर, जिविस झापाले आर्थिक वर्ष २०७३÷७३ का लागि २०३ वटा योजना तथा कार्यक्रम पारित गरेको छ ।

Jhapa_district_location
विषयगत कार्यालय र गैरसरकारी सङ्घसंस्थासमेत गरी रु पाँच अर्ब ९७ करोड छ लाख ७६ हजारको बजेट रहेको जिविसको आन्तरिक आय रु १० करोड मात्र छ । जिविसले अनुदानतर्फ प्राप्त गर्ने रु पाँच करोड ३१ लाख ६१ हजार र केन्द्रबाट प्राप्त हुने रु ९२ करोड २९ लाख ७६ हजारबाट नै २४औँ जिल्ला परिषद्बाट स्वीकृत नीति, बजेट तथा कार्यक्रमबाट पारित गरिएका योजना सम्पन्न गर्नुपर्ने अवस्था देखिएको छ ।

सातवटा निर्वाचन क्षेत्र र आठ लाखभन्दा अधिक जनसङ्ख्या रहेको यस जिल्लामा पूर्वपश्चिम राजमार्गदेखि दक्षिणका अधिकांश सडक कच्ची छन् । सीमित साधन र स्रोतको कारण ग्रामीण जनताको आवश्यकता, माग दिन प्रतिदिन बढ्दै जानु, प्रकोप व्यवस्थापनमा आफ्नो स्रोतले नभ्याउनु, धेरै सडक कालोपत्र नहुनु र निर्माण व्यवसायीले सम्झौता भएअनुसार समयावधिमा निर्माण कार्य गर्न नसक्नु जस्ता जिविसले समस्या व्यहोर्दै आएको छ ।

जिल्लाको समग्र समृद्धिका लागि केही महत्वपूर्ण योजनालाई सरकारले राष्ट्रिय गौरवको योजनामा राखेर विकास गर्नुपर्ने भन्दै जिविसले सरकारको ध्यानाकर्षण गराएको स्थानीय विकास अधिकारी खेमराज ओझा बताउनुहुन्छ । रासस

 

LIVE TV