१५ चैत्र २०७२, सोमबार

म्याग्दी – लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुदाँ गाविसस्तरमा हुने काम प्रभावित भएपछि म्याग्दीका विभिन्न गाविसमा दलीय सहमतिमा स्थानीय निकायको झल्को दिने गरी संयन्त्र बनाइएको छ । उत्तरी म्याग्दीको भूरुङ तातोपानी गाविसका बासिन्दाले जनप्रतिनिधिको अभावमा गाविस सचिव मार्फत विकास निर्माण, आर्थिक तथा विभिन्न कार्यहरू गर्दा झन्झट र एकलौटी भएको गुनासो गरेपछि गाविसस्तरीय सयन्त्र बनाइएको हो ।

नेपाली कांग्रेसका  गाविस सभापति अनिल हिराचनको संयोजकतत्वमा गठित संयन्त्रको सदस्यमा नेपाली कांग्रेसबाट आत्मा तुलाचन, नेकपा एमालेको तर्फबाट श्याम राना मगर, याम बहादुर फगामी, एकीकृत नेकपा माओवादीबाट बुद्धि पुन र ओम फगामी रहेका छन् । गाविसमा सक्रिय रहेका तीन ठुला दलका प्रतिनिधित्व रहेको संयन्त्रले स्थानीय निकायको अभावमा गनुपर्ने सबै जिम्मेबारी बहन गर्ने  एकीकृत माओवादीका प्रतिनिधि बुद्धि पुनले बताए । गाविस सानो भएपनि ठुलै सन्देश दिएको दलका नेताहरुको भनाई छ ।

दोस्रो संविधानसभाबाट देशकै ठूलो पार्टी बनेको नेपाली कांग्रेसका प्रतिनिधिले पहिलोपटक नेतृत्व गरेपनि हरेक बर्ष नेतृत्व हस्तान्तरण गर्ने सहमति समेत भएको छ । दलीय संयन्त्र मार्फत वडा र गाविसस्तरका योजनालाई इलाका हुदै जिल्लामा पु¥याउन समेत महत्वपुर्ण भूमिका खेलेको छ । करिव ७ सय जनसंख्या रहेको भूरूङ तातोपानी गाविसमा सरकारी तथा गैरसरकारी कार्यालय मार्फत भित्रिने कार्यक्रमको अनुगमन तथा पारदर्शी बनाउन समेत संयन्त्रले चासो देखाउने गरेको छ ।

 

LIVE TV