
धनुषामा सरुवा भएर आएदेखिनै कर्मचारीबीच विवादमा पर्दै आएका स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेतीले मनोमानी रुपमा गाउँविकास समितिका सचिवहरु हेरफेर गरेका छन् । गाविस सचिवहरु छिटै हेरफेर गर्दा गाविसको योजनाहरु प्रभावित भएको छ ।
जिल्ला विकास समिति धनुषाले केही गाविस सचिवहरुलाई उनीहरुले रोजेको गाविसमा र अन्य गाविस सचिवहरुलाई अपायक गाविसमा सरुवा गरेपछि सचिवहरुले तीव्र असन्तुष्टि जनाएका छन् । अतिरिक्त रकमदिने गाविस सचिवहरुलाई रोजेको गाविस र नदिने सचिवहरुलाई महिना दिन पनि नवित्दै हेरफेर गरेपछि जिविस धनुषामा विवाद बढ्दै गएको छ । गाविस हेरफेर गर्दा एक सचिवले ५० हजार अतिरिक्त रकम तिर्नुपर्ने बाध्यता रहेको गाविस सचिवहकहित संरक्षण केन्द्र धनुषाले आरोप लगाएको छ । रकम चलखेलका आधारमा महिना दिन नवित्दै अर्को सचिव पठाउंदा गाविसस्तरीय योजनाहरुको कामकाज ठप्प रहेको नेविसंघ धनुषाका सभापति साधु गोईतले बताए ।
समान्यतय एउटा कार्यालयमा काम गर्ने कर्मचारीको न्यूनतम अवधि दुई वर्षको भएपनि स्थानीय विकास अधिकारी उप्रेतीले कतिपय गाविसमा कार्यरत गाविस सचिवहरुलाई ६ महिना नपुग्दै हेरफेर गरेपछि विवादमा परेका हुन् । मागेको रकम नदिने गाविस सचिवहरुको ठाउंमा जबर्जस्ती अर्को सचिवलाई पठाउने गरिएको पीडित गाविस सचिवहरुको दाबी छ । तरस्थानीय विकास अधिकारी उप्रेतीले भने गविसका राजनीतिक दलका प्रतिनिधि र सचिवको कामकाजलाई मूल्यांकन गरेर सरुवा गरेको जिकिर गरेका छन् ।
७१ वटा गाविस रहेको धनुषामा महिनैपिच्छे सचिवहरु फेरिदा गाविसस्तरीय निर्माण योजना, लक्षितवर्गका कार्यक्रम, सामाजिक सुरक्षाभत्ता वितरण र गाविसको दैनिक कामकाज समेत प्रभावित हुंदै आएको छ ।