
काठमाडौँ, नेपाल नेत्रज्योति सङ्घले मुलुकका विभिन्न स्थानमा १७ वटा आँखा अस्पताल स्थापना गरेको जनाएको छ ।
नेत्रज्योति दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सङ्घका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले ३० जिल्ला शाखामा सञ्जाल विस्तार भइसकेको र आगामी दिनमा सेवा विस्तार गर्न बाँकी रहेका स्थानमा उपचार केन्द्र थपिँदै लगिने बताउनुभयो ।
उक्त कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले संस्थाले देशभर सञ्जाल विस्तार गरी सर्वसाधारणको आँखाको उपचार तथा शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएकामा त्यसको सराहना गर्नुभयो ।
उहाँले साहित्य क्षेत्रले समाजमा एकता तथा सद्भाव कायम राख्न सक्ने विश्वास व्यक्त गर्दै अब साहित्यकारले सामाजिक रुपान्तरणका लागि नयाँ ढङ्गबाट सिर्जना गर्नुपर्ने सुझाव दिनुभयो ।
सङ्घबाट प्रकाशित ‘शिक्षक÷शिक्षिकाका लागि दृष्टि परीक्षणसम्बन्धी सहयोगी पुस्तिका’ तथा सङ्घका कर्मचारी चन्द्रलाल तामाङद्वारा लिखित ‘मनका तरङ्ग’ नामक कृति विमोचन गरिएको थियो ।
कार्यक्रममा सङ्घका कर्मचारी बद्रीप्रसाद मैनाली र जगन्नाथ धिताललाई दीर्घ सेवा पदकसहित सम्मान प्रदान गरिएको छ ।
सोही कार्यक्रममा आयोजना गरिएको ‘दृष्टि सचेतना कविगोष्ठी’मा राष्ट्रकवि घिमिरे, प्राज्ञ तुलसी दिवस, साहित्यकार कमलमणि दीक्षित, धीरेन्द्र प्रेमर्षी, भुवन ढुङ्गाना, उषा शेरचन, प्रभा भट्टराईलगायतले कविता वाचन गर्नुभयो । रासस