१३ चैत्र २०७२, शनिबार

मोरङको तेतरीया गाविस नेपालकै पहिलो बालमैत्री गाविस घोषित , बालमैत्री स्थानीय शासन कार्यक्रमका सबै सुचांक तेतरीयाले पार गर्यो

मोरङको तेतरीया गाविसलाई नेपालकै पहिलो बालमैत्री गाविस घोषणा गरिएको छ । विराटनगरबाट १५ किलोमिटर उत्तरमा रहेको तेतरीया गाविसलाई ९ बर्ष देखिको निरन्तर प्रयासपछि बालमैत्री गाविस घोषणा गरिएको हो ।

शनिवार उपप्रधानमन्त्री एवं महिला बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले एक कार्यक्रमकाबीच तेतरीया गाविसलाई बालमैत्री गाविस घोषणा गर्दै प्रमाणपत्र प्रदान गर्नु भयो । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री मैनालीले संविधानको निर्माण पछि राजनैतिक एजेण्डा सकिएकोले अब विकास निर्माणको एजेण्डामा मुलुक अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले अहिले पनि प्रदेशको सीमांकनको मुद्दालाई अगाडि सारेर आन्दोलन गर्ने प्रयास भईरहेको बताउदै सीमांकनको मुद्दा मुलुक भित्रै वार्ता र सम्वाद गरेर समाधान गर्ने विषय भएको धारणा व्यक्त गर्नुभयो । उहाँले सिमांकनको मुद्दा मानवअधिकारको मुद्दा नभई राजनैतिक मुद्दा मात्र भएको बताउदै केही मुलुकहरुले मानवअधिकारका नाममा दबाब दिईरहेको गुनासो गर्नुभयो ।

उपप्रधानमंत्री मैनालीले सन् २०३० सम्ममा मुलुकलाई बालविवाह निषेधित मुलुक बनाउने सरकारले रणनीति बनाईरहेको जानकारी समेत दिनुभयो ।

बालमैत्री स्थानीय शासन कार्यन्वयन कार्यविधि २०६८ बमोजिम सवै ३९ वटा सुचाङकहरु पूरा गरेर तेतरीया गाविसलाई वालमैत्री गाविस घोषणा गरिएकोे गाविस सचिव विश्वमणि न्यौपानेले जानकारी दिनु भयो ।

तेतरिया गाविसले वालविवाह, खुल्ला दिशामुक्त गाविस, वाल सहभागिता, खोप कार्यक्रम विद्यालय भर्ना बजेटमा बाल सहभागिता लगायतका ३९ वटै सुचाङकहरुमा लक्ष्य पुरा गरेको छ । सो गाविसमा १ हजार ३ सय ५८ घरपरिवार रहेका छन् भने १ हजार ४  सय ४५ बालबालिकाहरु रहेका छन् । गाविसको कुल जनसंख्या ६ हजार ३ सय ११ रहेको छ । नेपालमा  ३ हजार १ सय ५७ गाविस रहेका छन् ।

 

 

LIVE TV