१३ चैत्र २०७२, शनिबार

काठमाडौँ, नेपाल बार एसोसिएसनको अध्यक्षका उम्मेदवारहरुले बारलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी न्यायपालिकाको रक्षा गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा डेमोक्र्याटिक लयर्स एसोसिएसनका तर्फबाट अध्यक्षका उम्मेदवार शेरबहादुर केसीले स्वतन्त्र न्यायपालिकाका लागि कसैसँग सम्झौता नगरिने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले देशको न्यायपालिका कमजोर भएको छ, त्यसलाई माथि उठाउनका लागि हामीले कुनै पनि किसिमको राजनीतिक दबाब सहँदैनौ ।” उहाँले क्रियाशील बार बनाउनका साथै न्याय र लोकतन्त्रको पक्षमा सदैव लड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रगतिशील कानुन व्यवसायीका तर्फबाट अध्यक्षका उम्मेदवार विजयकान्त मैनालीले कानुन व्यवसायलाई मर्यादित बनाई सङ्क्रमणकालीन उपलब्धिलाई संस्थागत गरेर बारलाई नयाँ ढङ्गले अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले बारमा निर्वाचित भएपछि व्यक्तिविशेष र समूहविशेषको मात्र काम नगरी सबै किसिमका राजनीतिक दबाबबाट बारलाई जोगाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्षका अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टी निकट रामप्रसाद प्रजापति र देशभक्त कानुन व्यवसायी समूहका राजकुमार थापाले बारमा राजनीतिक हस्पक्षेप बढेको बताउँदै त्यसविरुद्ध आफूहरुले उम्मेदवारी दिन लागेको बताउनुभयो । उहाँहरुले केही कानुन व्यवसायीले बारमा निर्वार्चित भएर त्यसलाई माथि चढ्ने सिँढी बनाएको आरोप लगाउँदै आफूहरु त्यसविरुद्ध आवाज उठाउन प्रतिस्पर्धामा आउनु परेको स्पष्ट पार्नुभयो । रासस

 

LIVE TV