
काठमाडौँ, सभामुख ओनसरी घर्ती जाम्वियाको लुसाकामा भएको अन्तर व्यवस्थापिका सङ्घको १३४औँ सम्मेलनमा भाग लिई आज साँझ स्वदेश फर्कनुभयो ।
उक्त सम्मेलनमा नेपालका तर्फबाट सभामुख घर्तीले प्रजातन्त्र र युवा विषयमा केन्द्रित भएर आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । सभामुख घर्तीले सम्मेलनमा नेपालको संविधानमा समेटिएका मौलिक हक, समानुपातिक समावेशी सिद्वान्तलगायत मुलभूत विषयवस्तु राख्नुभएको थियो ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख घर्तीले नेपालका तर्फबाट लोकतन्त्र र युवाका अतिरिक्त आतङ्कवाद, विकास, पुरातात्विक सम्पदा संरक्षणका विषयमा धारणा प्रस्तुत गरेको जानकारी दिनुभयो ।
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा सभामुख घर्तीले प्रधानमन्त्री स्वदेश फर्किएपछि राजनीतिक दलसँग परामर्श गरेर व्यवस्थापिका–संसद्को बैठक छिट्टै बोलाएर संविधानसम्मत ढङ्गले संसद् नियमावलीको निर्माण, संसदीय विशेष सुनुवाइ समिति गठनलगायत विषय टुङ्ग्याउन प्रयास गरिनेछ, भन्नुभयो । उहाँले भन्नुभयो, “संविधानले निर्धारण गरेको प्रक्रिया कसैले नाघ्न मिल्दैन, प्रक्रियासम्मत ढङ्गले सबै विषय अगाडि बढ्छन् ।”
विश्वका १३५ मुलुकले भाग लिएको उक्त सम्मेलनका अवसरमा भएको अन्तर व्यवस्थापिका–संसद्का महासचिवको सम्मेलनबाट व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भट्टराई उक्त समूहको कार्यकारिणी सदस्यमा चयन हुनु भएको थियो ।
सम्मेलनका क्रममा सभामुखसहितको नेपाली प्रमण्डलले बेलायत, जापानलगायत मुलुकका आफ्ना समकक्षीसँग द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल गरेको थियो । सभामुखका साथ सांसद गोकुल घर्ती, शिवजी यादव, ईश्वरी न्यौपाने, सीता नेपाली, योगेन्द्र चौधरी र संसद् सचिवालयका महासचिव भट्टराई पनि आजै स्वदेश फर्कनुभयो । रासस