
सिरियामा भएको सैन्य कारबाहीमा आइएसका दोस्रो नम्बरका कमाण्डर हाजी इमान मारिएको अमेरिकी दावी, आइएस विरुद्धको कारवाही तिब्र
सिरियामा भएको सैन्य कारबाहीको क्रममा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका दोस्रो नम्बरमा कमाण्डर अब्दुल रहमान मुस्तफा अल कादुली मारिएको अमेरिकाले दाबी गरेको छ ।
अमेरिकी रक्षा मन्त्री ऐस कार्टरले सैन्य कारबाहीको क्रममा आइएसका दोस्रो नम्बरका कमाण्डरसँगै अरु तीन लडाकु मारिएको बताए । उनले अमेरिकी सेनाले आइएस विरुद्धको कारबाहीमा सिरिया तथा इराकमा महत्वपूर्ण जित हाँसिल गरेको दाबी पनि गरे । कमाण्डर अब्दुल रहमान गएको बिहीबार मारिएको अमेरिकी अधिकारीले बताएका छन् । हाजी इमानका नामले चिनिने टर्कीस मुलका अब्दुल रहमानको जन्म इराकको मोसुलमा भएको थियो ।
अमेरिकी अधिकारीले रहमानको टाउकोको मूल्य ७० लाख अमेरिकी डलर तोकेका थिए । विशेष सैन्य कारबाहीको क्रममा गएको बिहीबार हेलिकप्टरबाट जमिनमा उत्रिएका सैनिकले रहमानलाई जीवितै पक्राउ गर्ने प्रयास गरेको तर त्यसक्रममा भएको संघर्षका क्रममा उनी मारिएको अमेरिकी रक्षा अधिकारीले बताएका छन् । पहिले बिद्रोही संगठन अल कायदामा रहेका रहमान सन् २०१२ मा जेलबाट रिहा भएपछि आइएसमा सामेल भएका थिए ।