
काठमाडौँ, रोबोटबाट नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल सम्मानित हुनुभएको छ ।
प्राविधिक विद्यार्थी समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा पार्टीको १३औँ महाधिवेशनमा प्रविधिको प्रयोग गरी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी भएकोे भन्दै पौडेललाई सम्मान गरेको हो । पौडेललाई महाधिवेशनमा भोट मागेको रोबोटलाई प्रमुख अतिथि बनाई रोबोटमार्फत सम्मान गरिएको थियो ।
नेता पौडेलले काँग्रेसले देशमा भएका विभिन्न समयको आन्दोलनको नेतृत्व लिएको भन्दै अब प्रविधिको नेतृत्व पनि काँग्रेसले गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “हरेक राजनीतिक दल व्यवस्थित भए देश व्यवस्थित हुन्छ राजनीतिक दललाई व्यवस्थित बनाउन प्रविधिप्रेमी बनाउनु जरुरी छ ।”
प्राविधिक विद्यार्थी समूहका सभापति सुमधुर बरालले मोबाइलमा डाउनलोड गरेर सबै क्रियाशील सदस्यको नामावली हेर्न सकिने प्रविधिको विकास गर्न लागेको जानकारी दिनुभयो । उहाँले २१औँ शताब्दीमा प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताउनुभयो । रासस