१२ चैत्र २०७२, शुक्रबार

भारतीय दूतावासको सहयोगमा झापाका बिभिन्न विद्यालयको निर्माण कार्य अलपत्र बन्दै , हेलचेक्रयाई गर्ने ठेकेदार कम्पनीलाई निगरानी गर्न स्थानीयवासीको आग्रह

malpot

झापा- ठेकेदार कम्पनीको लापरवाहीका कारण भारतीय दुतावासको सहयोगमा झापाका विभिन्न विद्यालयमा निर्माणाधीन भवन निर्धारित समयमा सम्पन्न हुन सकेका छैनन् । भवन बन्ने अभिलाषाले पुराना भवन धमाधम भत्काएका विद्यालयले वषौं वित्दा पनि नयाँ भवन नपाएपछि अहिले विद्यालयको अध्ययन अध्यापनमा समस्या उत्पन्न भएको छ ।

झापाको धाइजनस्थित बलभद्र उच्च माविमा भारतीय दुतावसको सहयोगमा विद्यालयको भवन निर्माण कार्य सुरु भएको साढे तीन वर्ष भइसक्यो । तुलसीभक्त कन्स्ट्रक्सनसँग १५ महिनाभित्र २२ कोठे नयाँ भवन बनाउने सम्झौता भए पनि अहिलेसम्म २१ प्रतिशत मात्र काम भएको छ । त्यस्तै, महेशपुरस्थित अरनीको उच्चमाविमा ललितपुरको सेवा कम्पनीले निर्माण कार्य सम्पन्न गर्नुपर्ने समय सम्म सात प्रतिशत मात्रै काम गरेर छाडेको छ । यी दुई विद्यालयका भवनमात्रै हैन झापामा भारतीय दुतावासको सहयोग निर्माणाधीन अन्य २ विद्यालय भवनको निर्माण कार्य पनि कछुवाको गतिमा छ ।

गौरादहस्थित स्कुल चउन उच्चमाविमा श्यामसुन्दर राम जेभीले दोस्रो पटक म्याद थप गरी हाल सम्म ६२ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । ढुकुचु, शिवाको राजधानी जेभिले पटक पटक म्याद थप गरी सात वर्षमा लखनपुरको मंगलमय उच्चमाविको भवन अन्तिम चरणमा पु¥याएको छ । भारतीय दुतावासको आर्थिक सहयोगमा निर्माण भइरहेका भवनहरु मध्ये यी दुई विद्यालय भवनको निर्माण कार्य मात्र पछिल्लो समय निरन्तर छ । बलभद्र र अरनिको उच्च माविका भवनको निर्माण कार्य रोकिएपछि विद्यालय प्रशासन अलपत्र भवन हेरेर बस्न बाध्य छ । यसरी निर्धारित समयमा काम सम्पन्न नहुँदा विद्यालयको पठनपाठन समेत प्रभावित हुने अवस्थामा पुगेको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरु बताउछन् ।

पछिल्ला समय अलपत्र परेका बलभद्र र अरनिको उच्च माविका ठेकेदार विद्यालयको सम्पर्कमा छैनन् । ठेकेदारसँगको सम्झौता, बजेट निकासा, रोक्का, निर्माण कार्यको अनुगमन, निरीक्षण र कारवाहीको जिम्मेवारी पाएको जिल्ला विकास समिति झापाले भने निर्माण कार्य समयमा सम्पन्न गराउने कार्यमा त्यही चासो नदिएको सरोकारवालाहरु बताउँछन् । यता, जिल्ला विकास समिति झापाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत दीपक दाहाल काम नगर्ने ठेकेदारलाई जरीवाना गरी कार्य गर्ने दायरामा ल्याउन प्रयास गरिएको बताउनुहुन्छ ।

झापामा हाल सम्म भारतीय दुतावासको सहयोगमा सात वटा विद्यालयमा नयाँ भवन निर्माण भई सञ्चालनमा आइसकेका छन् । तर, पछिल्लो समय यसरी निर्माणाधीन विद्यालय भवनहरु अलपत्र पर्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

 

LIVE TV