१२ चैत्र २०७२, शुक्रबार

काठमाडौँ, काठमाडौँका विभिन्न फुटपाथमा डुल्दै चुरोट तथा गुट्खा बिक्री गर्दै आएकी लक्ष्मी न्यौपानेको व्यापार अचेल घट्दै गएको छ ।

M_Id_439640_Smoking-660x330
पहिले दिनको चार बट्टासम्म चुरोट विक्री हुने भए पनि अहिले दैनिक एक बट्टा पनि विक्री गर्न गाह्रो हुने गरेको उहाँले सुनाउनुभयो । दश वर्षदेखि काठमाडौँको पुतलीसडकमा किराना पसल चलाएर बसेका विनय महर्जन सुर्तीजन्य वस्तुका बिक्रीबाट पहिले मनग्य आम्दानी भएको भए पनि अहिले असर पर्न थालेको बताउनुहुन्छ ।

“दुई वर्ष भयो, चुरोट र सुर्तीजन्य वस्तुको यथेष्ट व्यापार हुन छाडेको छ । पहिलेको तुलनामा आधाभन्दा कम व्यापार हुन्छ”, उहाँले भन्नुभयो । बट्टा तथा खोलमा छापिएका ‘डरलाग्दा’ तस्बिरले चुरोटलगायत सुर्तीजन्य वस्तुको व्यापार घटेको उहाँको बुझाइ छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ पछिल्लो समय जनचेतनात्मक तस्बिर चुरोट, सुर्तीको खोलमा राख्दा यसको सेवन गर्नुहुन्न भन्ने चेतना फैलिएको बताउनुहुन्छ । सुर्ती तथा चुरोट सेवनले स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावबारे मानिसमा जनचेतना बढ्दै गएको छ । “सरकारले सुर्तीजन्य वस्तुका उपभोक्ता घटाउन विभिन्न कार्यक्रम गरिरहेको छ” श्रेष्ठले भन्नुभयो ।

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ जारी गर्दै सुर्तीजन्य वस्तुको बट्टा तथा खोलमा ७५ प्रतिशत जनचेतनामुलक तस्बिर राख्नुपर्ने व्यवस्था लागू गरेको थियो । नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार सुर्तीजन्य वस्तुको बजारसँगै उत्पादन पनि घट्दो क्रममा छ । राष्ट्र बैंकले देशका आठवटा औद्योगिक क्षेत्रमा गरेको अध्ययनअनुसार नेपालमा वार्षिक दुई प्रतिशतले सुर्तीजन्य वस्तुको बजार घट्दै गएको छ ।

यस्तै दुई प्रतिशतकै दरले उत्पादनमा समेत कमी हुँदै गएको तथ्याङ्कले देखाउँछ । आव २०७०÷७१ मा एक हजार ३७७ मेट्रिक टन सुर्ती उत्पादन भएकामा आव २०७१÷७२ मा एक हजार ३७५ मेट्रिक टन मात्रै उत्पादन भएको थियो । सुर्तीको खेतीसमेत वार्षिक औसत ६ प्रतिशतका दरले घट्दो क्रममा छ । आव २०७०÷७१ मा ८८९ हेक्टरमा सुर्ती खेती भएकामा आव २०७२÷७२ मा ८०० हेक्टरमा उक्त खेती भएको थियो ।

आन्तरिक राजस्व विभागको तथ्याङ्कअनुसार सुर्तीजन्य पदार्थको राजस्वसमेत घट्दो क्रममा छ । आव २०७१÷७२ मा सुर्तीजन्य पदार्थबाट रु दुई अर्ब बढी राजस्व सङ्कलन भएको थियो भने यस वर्षको माघ मसान्तसम्म रु दुई अर्ब राजस्व सङ्कलन भएको छ । बजार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार आव २०७०÷७१ र आव २०७१÷७२ मा रु दुई अर्ब ५५ करोडको सुर्तीजन्य वस्तुको आयात भएको छ । आव २०६९÷७० मा रु दुई अर्ब ११ करोडको आयात भएको थियो ।

सरकारी तथ्याङ्कअनुसार सुर्तीजन्य वस्तुको प्रयोगबाट नेपालमा वार्षिक करिब २७ हजार क्यान्सर रोगी थपिन्छन् भने १६ हजारको मृत्यु हुने गर्छ । सरकारले सुर्तीजन्य वस्तुको प्रयोग घटाउन २०७१ सालदेखि तिनको बट्टा तथा खोलमा ९० प्रतिशत जनचेतनामूलक तस्बिर राख्नुपर्ने नियम लागू गरेको छ । तर उक्त नियम कार्यान्वयन प्रभावकारी रुपमा हुन सकेको छैन । रासस

 

LIVE TV