११ चैत्र २०७२, बिहीबार

काठमाडौँ-  क्षयरोग निदानका लागि सबै सङ्गठित होऔँ भन्ने नाराका साथ  बिश्व क्षयरोग दिवस नेपालमा पनि मनाइयो । नेपालमा अहिले पनि कुल जनसंख्याको ४० हजार मानिसको मृत्यु जटिल क्षयरोगका कारण हुन गरेको छ । लगातार ज्वरो आउनु, निरन्तर सुख्खा खोकी लाग्नु तथा खान रुचि नहुनु, एक महिनामा ५ देखि ६ किलोग्रामसम्म तौल घट्नु नै क्षयरोगको लक्षण हो ।

world-tb-day

८० वर्ष पहिले हरेक ७ जनामा १ जना त क्षयरोगले नै मर्दथे । सन् १८८२ मार्चमा नै यो रोग पत्ता लागेको भए पनि यो रोग विरुद्धको औषधि त्यसको धेरै वर्षपछि अर्थात सन् १९४३ मा मात्र पत्ता लागेको थियो । क्षयरोगीको उपचार, क्षयरोग रोकथाम तथा नियन्त्रणको लागि र सर्वसाधारणमा क्षयरोगबाट बच्ने उपाय सुझाउन जनचेतना कार्यक्रम सञ्चालनका लागि भनेर बर्सेनी झन्डै एक अर्ब रुपियाँ राज्यकोष र विदेशी दाताहरूले खर्च गरिरहेका छन् । तथापि क्षयरोगको प्रकोप दिनानुदिन घट्नुको साटो बढिरहेको छ । सधैँ व्यस्त र भीडभाड रहने काठमाडौंलगायत मुलुकका प्रमुख शहरहरूमा सार्वजनिक सवारीसाधन टेम्पो, माइक्रोबस र मिनीबस चढ्ने सर्वसाधारणदेखि बाटोमा एक–अर्कामा टाँसिएर हिँड्नुपर्ने पैदलयात्रुहरू पनि क्षयरोगीहरूको श्वासप्रश्वास जुध्नबाट बच्न सकिरहेका छैनन् र आफूलाई क्षयरोग सार्न बाध्य भइरहेका छन् ।

फोक्सोमा साधारण क्षयरोग लागेका एकजना बिरामीले फेरेको श्वासको नजिक पर्ने स्वस्थ मानिसलाई सजिलैसँग क्षयरोग सर्न सक्ने क्षयरोग विशेषज्ञहरू बताउँछन् ।

सन् १९९६ मा नमुनाका रुपमा सुरु गरिएको क्षयरोगको डट्स उपचार पद्धति ७५ जिल्लाका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका साथै निजी स्वास्थ्य संस्था गरी चार हजार २ सय २१ उपचार केन्द्रबाट एकीकृत स्वास्थ्य सेवाको निःशुल्क उपचार सेवा दिँदै आएको छ । हाल ५ सय ८१ माइक्रोस्कोपिक केन्द्रबाट शङ्कास्पद क्षयरोगीको निःशुल्क खकार परीक्षण गरिँदै आएको छ । औषधिको मात्रा नमिलाई सेवन गरेमा वा पुरै अवधि औषधि नखाएमा क्षयरोगका किटाणुहरु मर्दैनन् र उल्टो कडा रुपमा मौलाउने चिकित्सकहरु बताउँछन् ।

बिश्व स्वास्थ्य संगठनका अनुसार विश्व जनसंख्याको एकतिहाई भाग अहिले पनि क्षयरोगबाट ग्रसित छ कुनै बेला निको नहुने र औषधि पत्ता नलागेकोका रूपमा परिचित यस रोगको औषधि हाल देशभर निःशुल्क उपलब्ध छ । जन्मेको एक वर्षभित्र क्षयरोग रोगबाट बच्नका लागि लगाइने नवजात शिशुलाई बीसीजी खोप अनिवार्यरुपमा लगाउनु पर्छ  । सफा र सन्तुलित भोजन सेवन गर्ने र संक्रमणबाट जोगिन सके क्षयरोगबाट बच्न सकिन्छ ।

 

 

LIVE TV