
काठमाडौँ, सरकारले मुलुकभर सञ्चालन भएका मासु पसलको अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।
पशुपक्षी विकास मन्त्रालय तथा मातहतका निकायबाट यही चैत १४ देखि २० सम्म वधशालादेखि मासु पसलसम्म अनुगमन तथा निरीक्षण राष्ट्रिय अभियान सञ्चालन गर्न लागिएको हो । तीन महिनाअघि मन्त्रालयले सार्वजनिक गरेको ४० बँुदे प्रतिबद्धतानुसार सो अभियान सञ्चालन गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिनुभयो । ‘स्वच्छ र स्वस्थ मासु अभियान, २०७२’ कार्यक्रम अन्तर्गत चैत १४ गते यहाँ प्रभातफेरी गरिने र चैत १५ गतेदेखि अनुगमन तथा निरीक्षण कार्यक्रम थालनी गरिने भएको हो ।
मानव शरीरमा ७० प्रतिशत रोग अस्वस्थ मासु खाँदा हुने हुँदा मन्त्रालयले उपभोक्तालाई सचेत गर्ने उद्देश्यबाट सप्ताहव्यापी अभियान थालनी गर्न लागेको हो । अभियानअन्तर्गत पसल निरीक्षण, काँचो मासु सङ्कलन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
गत पुस ९ गते नयाँ मन्त्रालय स्थापनापछि मन्त्रालयले औपचारिक रुपमा यसअघि अन्डामा एक वर्ष, दूधमा दुई वर्ष र मासुमा तीन वर्षभित्र आत्मनिर्भर भइसक्ने जनाएको थियो । पशुपक्षीबाट कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत र कुल कृषि गार्हस्थ्य उत्पादनमा करिब २६ दशमलव योगदान छ । रासस