११ चैत्र २०७२, बिहीबार

कुनै समय गाउँमा आवश्यक पर्ने योजनामा बजेट माग्न नेता गुहार्न पथ्र्यो । विकास बाँड्ने निकायमा भौतारिन्थे म्याग्दीको तातोपानीबासी । पटकपटक जाँदा पनि विभिन्न बाहना बनाएर फकाईन्थ्यो भने राज्यले उपलब्ध गराउनुपर्ने आधारभुत आवश्यकताबाट समेत उनीहरु बन्चित थिए । तर अहिले गाउँमा आवश्यक पर्ने सबै पूर्वाधारको सहज पहुँच पुगेको छ । गाउँमा रहेको तातोपानी कुण्डलाई ब्यवस्थित बनाएर प्राकृतिक उपचार केन्द्रको रुपमा स्थापित गरेपछि गाउँको मुहारमा परिवर्तन आएको हो ।

taatopaani

कुण्डको आम्दानीले बर्षेनी शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, शान्तिसुरक्षा, नदी कटान, खानेपानी लगायत विभिन्न क्षेत्रमा खर्च गर्न मनग्य पुगेको छ । राज्यले प्रावि तहको मात्र दरबन्दी दिएको तातोपानीमा अवस्थित विद्यालयलाई पनि कुण्डको आम्दानीले मावि तहको दरबन्दीको ब्यवस्था गरिएको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत हरेक वर्ष रकम खर्च गरिदै आएको छ । बेनी नगरपालिका तथा सदरमुकाम बेनीबाट नजिक रहेपनि गाउँमा स्वास्थ्य चौकी थिएन । तर तातोपानी व्यवस्थापन समितिले जग्गा खरिद गरेपछि जिल्ला स्वास्थ्य कार्यालयले भवन बनाइदिएको छ । तातोपानीको आम्दानीले सरस्वती माविमा कार्यरत १० जना शिक्षकलाई मासिक प्रति शिक्षक १२ हजार तलव, विद्यालयको जग्गा खरिदमा १८ लाख, स्वास्थ्य चौकी निर्माणमा १८ लाख, म्याग्दी नदी नियन्त्रणमा प्रत्येकबर्ष ८ लाख, प्रहरी चौकी जग्गा खरिद ५ लाख, आमा समूहको भवन निर्माण २ लाख, खानेपानी, मोटरबाटो लगाएत गाउँमा आवश्यक सामाजिक कार्यमा लार्खौ खर्च गरिएको छ । पोखरीका रुपमा रहेको कुण्डलाई ब्यवस्थित बनाउन पक्की भवनका साथै विरामीको सुविधाका लागि थप दुईवटा कुण्ड थप समेत गरिएको छ । कुण्डको पुर्वाधार विस्तारमा समेत लाखौं खर्च गरिएको छ । कुण्डलाई अपाङमैत्री बनाइएको छ ।

गाउँको मुहार फेर्न वरदान नै बनेको तातोपानी कुण्डको आम्दानी आवश्यकता अनुसार गाउँको विकासमा खर्च गर्ने गरिएको कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

जिल्लाको सदरमुकाम बेनीबजारबाट करिव सवारीसाधनमा आधाघण्टामा पुगिने तातोपानीमा प्रत्येकबर्ष म्याग्दीखोलाले कटान गर्ने गरेको छ । कुण्ड ब्यवस्थित भएपछि प्रत्येक बर्ष देशका विभिन्न जिल्लाबाट स्नान गर्न आउने विरामीको संख्यामा समेत बृद्धि भएको छ । वि.स २०४२ सालमा तातोपानीको मुल फेला परेपनि २०५२ साल देखि ब्यवस्थापन समिति बनाएर पुर्वाधार विस्तारसँगै टिकट दर निर्धारण गरिएको थियो । कुण्डको मुहानबाट ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानीमा स्नान गरे गानो, गोला, ग्यास्ट्रिक, बाथ, हाडजोर्नि दुख्ने, चोटपटक लागेको, चर्मरोग, प्यारालाईसीस लगायतका रोग निको हुने जनविश्वास रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV