११ चैत्र २०७२, बिहीबार

लमजुङ-  पाल र कटेरामै बसेर यसबर्षको बर्षा, कठ्याङ्ग्रिदो जाडो कटाएका लमजुङको दुर्गम गाउँ पाचोकका भूकम्प पीडितहरु गर्मी महिनामा भने आफ्नै घरमा बस्न पाउने भएका छन् । बैशाख १२ आउन एक महिनामात्रै बाँकी रहँदा सरकार भने अझै पुननिर्माणमा अल्झिरहेको छ । तर दुर्गम गाउँ पाचोकका स्थानियलाई गोर्खा वेलफेयर स्किमले घर बनाइदिएपछि उनीहरु आफ्नै घरमा बस्न पाउँने भएका हुन् ।

IMG_2261

त्रिपालको भरमा यसबर्षको बर्षा, पुस र माघको कठ्याङ्ग्रिदो जाडो कटाएका लमजुङस्थित दुर्गम गाउँका भूकम्प पीडितहरु घर निर्माणमा जुटेका छन् । सहयोगी संस्थाहरुको सहयोगमा उनीहरु घर निर्माणमा लागेका हुन् । गाउँमा बेलायतस्थित गोरखा वेलफेयर स्किम अन्तर्गत भुकम्प प्रतिरोधात्मक घर बनाउन लागिएको हो । विगत ११ महिनादेखि सरकारको बाटो कुरेर बसेका भूकम्प पीडित नागरिकहरु सरकारले वास्ता नगरेको भन्दै दुःख प्रकट गरेका छन् । गाउँलेहरुले आफ्नो घर वेलफेयरले बनाइदिएर कहिल्यै बिर्सन नसक्ने गुण लगाईदिएको स्थानिय बृद्ध मनमाया गुरुङ बताउनुभयो । उहाँले आफ्नो एक मुठिठ् सास रहिरहुन्ञ्जेल घर बनाइदिने संस्थालाई नबिर्सने बताउनुभयो ।

बैशाख १२ गते गएको विनाशकारी भुकम्पले जिल्लाका अधिकांश स्थानमा बसोबास गर्ने ब्रिटिश सेनाका परिवारहरुको घर भत्किएपछि गोर्खा वेलफेयरले घर निर्माण गर्दै आएको छ । वेलफेयरले ब्रिटिश सेनामा कार्यरत सैनिकका भूकम्प पीडित परिवारका लागि निशुल्क घर बनाउँदै आएको छ । घर बनाउनको लागि विगत ११ महिनादेखि सरकारको प्रतीक्षामा बसेका भुकम्प पीडित नागरिकहरुले पुननिर्माणका लागि सरकार कानमा तेल हालेर बसेको गुनासो गरे । जिल्लाका दुर्गम बस्तीका नागरिकहरु अझै भुकम्पबाट भत्किएको घरहरु सरकारले बनाइदिने होकि आफैंले बनाउने हो भन्ने द्धिविधामै रहेको  स्थानीय भुकम्प पीडित आशबहादुर गुरुङले बताउँनुभयो ।

घर निर्माणका लागि सरकारले दिने भनेको रकम कहिले दिने भन्दै बसेका उनीहरुले सरकारले घर नबनाइदिने भए जनतालाई आशमा नराख्न आग्रह गरेका छन् । हावाहुरीको समय आएकोले भएका पाल र टहरापनि उडाउन थालेपछि भूकम्प पीडितहरुको हरिविजोग हुन थालेको छ ।

 

 

 

LIVE TV